प्रदेश प्रहरीका खेलाडीहरुको सामुहिक तस्विर

बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा जारी शहिद स्मृति अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतिगोगिताको पहिलो खेलमा प्रदेश प्रहरी कार्यालय मकवानपुर विजयी भएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा बकैया–४ स्थित जुरेली मैदानमा बुधबार भएको पहिलो खेलमा प्रदेश प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकालाई १–० गोलअन्तरले हराउँदै विजयी भएको हो ।

प्रदेश प्रहरीको तर्फबाट दोस्रो हाफको २६ औँ मिनेटमा रामकृष्ण राउतले निर्णायक गोल गरे । म्यान अफ द म्याच राम कृष्ण राउत घोषित भए । आफू भन्दा अग्रज खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेकोले, निक्कै कठिन प्रतिस्पर्धात्मक प्रतियोगिता भएकोले हार व्यर्होर्नु परेको उपमहानगपालिकाका टिमका प्रशिक्षक ज्ञानु क्षेत्रीले बताउनुभयो ।

यस्तैै बुधबार भएको दोस्रो खेलमा बागमती गाउँपालिका विजयी भएको छ । बागमती गाउँपालिकाले माझी उत्थानलाई २–० गोलअन्तरले हराउँदै विजयी भएको हो । माझी उत्थानको तर्फबाट दोस्रो हाफको २६ मिनेटमा आकाश रानाले १ गोल गरे । प्रतियोगितामा ९ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गते हुनेछ ।