पछिल्लो समय नेपालीहरुमा अस्वस्थ खानेकुरा (जंकफुड)को उपयोग वृद्धि भइरहेको छ । यसले हाम्रो स्वास्थ्यमा जटिल समस्या थपिइरहेको छ । पौष्टिक तत्व कम भएका, सजिलो–सस्तो मूल्यमा उपलब्ध हुनसक्ने, सहजरुपमा उपभोग गर्न सकिने, बेकारका पदार्थमा रासायनिक तत्व मिश्रण गरी बनाइएका कमसल खाद्य एवम् पेयपदार्थलाई खाद्य र पोषणविद्हरुले ‘जंकफुड’ नाम दिएका छन् । जसले क्षणिक स्वाद र सन्तुष्टि प्रदान गर्दछन् । आकर्षणका लागि विभिन्न किसिमका रङ, रसायन, टेष्टमेकर राखी बनाइएका खाद्य, पेयपदार्थहरुले स्नायु प्रणालीमा असर गर्ने हुँदा मानिसमा त्यस्ता खाद्यपदार्थलाई मानसिकरुपमा नै स्वीकार गर्ने अवस्थामा पुग्दछन् । एकपटक प्रयोग गरेपछि पटकपटक खाइरहन चाहन्छन् । हामीले उपभोग गर्ने विभिन्न खानेकुरा अस्वस्थ भइदिँदा हामीले विभिन्न रोग पाल्नु परिरहेको छ । त्यसैले त अहिले पूर्णरुपमा स्वस्थ नेपाली भेट्टाउनै मुस्किल पर्ने अवस्था छ ।
स्वास्थ्यका लागि घातक रसायनको प्रयोग गरी, जनस्वास्थ्यको ख्यालै नगरी सार्वजनिक स्थलमा जथाभावी खानेकुरा बिक्री भइरहेका छन् । विशेषगरी विद्यालय, क्याम्पस, सार्वजनिक स्थल तथा मानवीय चाप बढी हुने स्थानहरुमा यस्ता खानेकुराको निर्वाध बिक्री हुने गर्द छ । अस्वस्थ खानेकुराको प्रयोग बढ्दै जाँदा गाउँघरमा पाइने नेपाली मौलिक र अर्गानिक खानेकुरा हराउँदै गएका छन् । गाउँघरका खेतबारी बाँझै राखेर आयातित खाद्यान्नमा हामी परनिर्भर हुँदै गएका छौं । जंकफुडका कारण पछिल्लो पुस्ताले कोदो/फापरको रोटी र भुटेका मकैको स्वाद भुलिसकेका छन् । भान्सामा बनाउन पर्ने झन्झटकै कारण अभिभावकले बालबालिकालाई स्कूल खाजाको रुपमा चाउचाउ र बिष्कुटलाई अनिवार्यजस्तै बनाएका छन् । बढ्दो जंकफुडको प्रयोगले बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । शरीरका लागि आवश्यक पर्ने भिटामिन, मिनरल, फाइवर आदि नगन्य मात्रामा हुने जंकफुड अस्वस्थकर, पच्न कठीन हुने चिल्लो पदार्थ, अधिक मात्रामा नुन र स्वास्थ्यमा हानि पुर्याउने किसिमका गुलियो पदार्थ मिश्रण गरी बनाइएको हुन्छ ।
यिनै कुरालाई मनन गर्दै हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविले स्वस्थकर खाना प्रदर्शनी कार्यक्रम गरेको छ । शुक्रबार विद्यालयका विद्यार्थीलाई स्वस्थ्यकर खाना प्रदर्शन गरी स्वस्थ खानाको आवश्यकता र फाइदाबारे जानकारी गराएको हो । विद्यार्थीहरुले पोषण पिरामिड प्रदर्शन गर्दै अन्न र कन्दमूल, गेडागुडी, दाल, फलफूल र सागपात, पशुपक्षीजन्य र माछामासुको परिकार बनाउन र खान सचेतना प्रदान गरेका थिए । विद्यालयले स्वस्थ खानपिन, पोषिलो खानेकुरा र असल व्यवहारलाई लक्ष्य बनाएर कार्यक्रम सञ्चालन गरेको हो । प्रदर्शनीको जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अवलोकन गरेका थिए । स्वस्थकर खानेकुराप्रति बालबालिका र अभिभावकलाई सचेत बनाउँदै जंकफुडको उपभोग कम गर्न यस्ता प्रदर्शनी उपयोगी बन्नसक्छ ।
बजारमा सस्तो मूल्यमा सहजै पाइने बिस्कुट, चाउचाउ, पिज्जा, हट्डग्स, चिसो पेयपदार्थहरु, जुसहरु, आइसक्रिम, कुल्फी, चकलेट, चुइगम, टफी, माँडा, चटपटे, पानीपुरी, तितौरा, पाउँ, डुनोट, रेडिमेड चिप्स आदि बालबालिकाको रुचिकर खाना तथा खाजामा पर्दछन् । आकर्षक प्याक र स्वादमा आउने यस्ता जंकफुडप्रति बालबालिका छिट्टै आकर्षित हुने भएपनि ती खाद्यवस्तुको गुणस्तर कमसल हुनेतर्फ सचेतनाको अवस्था कमजोर छ । यस्ता अस्वस्थकर खानेकुराको उपयोग न्यूनीकरणका लागि स्वयम् अभिभावकले समेत पर्याप्त चासो देखाएका छैनन् । पछिल्ला दिनहरुमा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीको क्रममा विद्यालय हाताभित्र जंकफुड निषेधको प्रयास भइरहेको छ । जंकफुड निषेध गर्ने कार्यलाई विद्यालयमा मात्र सिमित नराखी अभियानकै रुपमा सबैतिर सञ्चालन गर्नुपर्छ । जंकफुडको बढ्दो प्रयोगले बालबालिकामात्रै होइन, वयस्क र वृद्ववृद्वाको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने तथ्यलाई मध्यनजर गर्दै सरकारी स्तरबाटै स्वस्थकर खानेकुराको उपयोगलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ ।