हेटौँडाः ११औं राष्ट्रिय विज्ञान दिवसको सन्दर्भमा विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा हेटौँडामा विज्ञान शिक्षकबीच कार्यशाला तथा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । “समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका” विषयक वक्तृत्वकला प्रतियोेगितामा जीएस निकेतन माविका आदर्श पौडेल प्रथम, जीएसकै प्रतिष्ठा कार्की दोस्रो, मकवानपुरगढी गाउँपालिकाको चण्डिका माविकी तेज कुमारी बास्कोटा तृतीय तथा नवोदय शिशु सदनकी विदुषी हुमागाईँ र बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी रितिका छत्कुल्ली सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमशः नगद छ हजार, पाँच हजार, चार हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार राशी नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनालले प्रयोजन गर्नुभएको थियो । नवोदय शिशु सदनसँगको सहकार्यमा भएको प्रतियोगितामा मकवानपुरका ८ वटा पालिकाका विद्यालयबाट २२ जना विद्यार्थी सहभागी थिए ।
विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर शाखाका प्रमुख कृष्ण घिमिरेको विशिष्ट आतिथ्यतामा नवोदय शिशु सदनको सभाहलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि घलानले भोलिको समय राम्रो बनाउन र समाज उन्नत बनाउन विज्ञान शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । विशिष्ट अतिथि घिमिरेले विज्ञान शिक्षा र क्षेत्रमा उचित लगानी गरेमात्र समाज र देश समुन्नत हुने धारणा राख्नुभयो । उद्घाटन कार्यक्रममा सामाजिक शिक्षा शिक्षक समाज मकवानपुरका अध्यक्ष भोगेन्द्र लुईँटेल, गणित शिक्षा परिषद् मकवानपुरका अध्यक्ष धनिकलाल साह, नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनालको आतिथ्य रहेको थियो । यस्तै कार्यक्रमको दोस्रो सत्रमा विज्ञान शिक्षकको कार्यशालामा भने मकवानपुर जिल्लाका २२ जना शिक्षकले सहभागिता रहेको थियो । कार्यशालामा नवोदय शिशु सदनकी शिक्षक अनुष्का श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।