हेटौंडाः नेपालभर अक्टोबर महिनामा स्तन क्यान्सर सचेतना कार्यक्रम गर्ने गरिन्छ । स्तन क्यान्सर सचेतना महिना गत आइतबार (असोज १४ गते) बाट कार्तिक १४ गतेसम्म रहनेछ । एक महिनामा महिलाहरुलाई स्तन क्यान्सरको बारेमा जानकारी दिइने गरिएको छ । सचेतनामूलक कार्यक्रम हरेक प्रदेश, जिल्ला र पालिकामा मनाउने गरिएको बताइएको छ ।
विश्वका धेरै महिलाहरुले स्तन क्यान्सरको कारण ज्यान गुमाउने गरेका छन् । सन् २०२० को ग्लोबल क्यान्सरको तथ्याङ्कअनुसार विश्वमा स्तन क्यान्सरका कारण ६८ हजार ५ सय जनाको मृत्यु भएको छ । नेपालका १ हजार ४९ जना महिलाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । विश्वभर स्तन क्यान्सरबाट प्रभावित महिलाहरुको संख्या २३ लाख रहेको छ । यीमध्ये नेपालका १ हजार ९ सय ७३ जना रहेका छन् । तथ्याङ्कअनुसार नेपालमा स्तन क्यान्सरको विषयमा धेरै महिलाहरुले जानकारी लिन अति आवश्यक रहेको छ । यो क्यानसर महिलालाई मात्र हुन्छ भन्ने छैन । स्तन क्यान्सर पुरुषलाई समेत हुन्छ । स्तन क्यान्सरलाई छिटो जाँच गरे केहि गाह्रो हुँदैन तर क्यान्सर बढेपछि निक्कै ढिलो हुन सक्छ ।
स्तन क्यान्सरको लक्ष्यहरु स्तन वा काखीमुनि नदुख्ने गिर्खा आउने, स्तनको आकारमा परिवर्तन आउने, स्तनको मुन्टा भित्रतर्फ जान थाल्ने, स्तनको मुन्टाबाट पीप, रगत वा पानीजस्ता तरल पदार्थ बग्ने, स्तन दुख्ने वा सुन्निने, स्तनको छालामा निको नहुने घाउ आइरहने हुन् । स्तन क्यान्सरको जोखिमबाट बच्ने उपायहरु धुमपान तथा मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, तौललाई सन्तुलनमा राख्ने, पोषणयुक्त खानेकुरा खाने, स्तनको नियमित जाँच वा परीक्षण गर्ने, स्तनपान गराउने आदि रहेका छन् ।
धेरै महिलाहरुमा ३० वर्षको उमेरपछि स्तन क्यान्सर देखिन सक्छ । स्तन क्यान्सरको परीक्षण धेरै विधिबाट गर्न सकिन्छ । स्वयम् स्तन जाँच, क्लिनिकल बे्रष्ट इक्जाम, अल्ट्रासाउण्ड र म्याकोग्राफी स्तन क्यान्सर पहिचान गर्ने विधि रहेका छन् । यी सबै विधि गरेमा स्तन क्यान्सर छिटो पत्ता लगाउन सकिनेछ । स्वयम् स्तन परीक्षणले आप्नो स्तनको स्वभाविक आकार, रङ र महसुसताबारे थाहा पाउन मद्दत गर्दछ । यदि आफ्नो स्तनमा कुनै अस्वभाविक परिवर्तन भएमा र एउटा स्तनको तुलनामा अर्को स्तनमा परिवर्तन आएमा स्वास्थ्यकर्मीसँग तुरुन्तै सम्पर्क गर्नुपर्दछ । स्वयम् स्तन परीक्षणसम्बन्धी जानकार भएमा स्तन क्यान्सरबाट बच्न सकिन्छ ।
मकवानपुर जिल्लामा पनि स्तन क्यान्सरको सचेतना कार्यक्रम गर्नेबारे सरसल्लाह भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनु भएको छ ।