समाजवादी जागरण अभियानलाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ।

हेटौंडाः नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सही काम गरे देश परिवर्तन गर्न सकिने बताउनुभएको छ । हेटौंडामा शुक्रबार समाजवादी जागरण अभियान अन्तर्गत आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले वर्तमान अवस्थामा राज्यका सबैजसो निकायमा, सरकारी प्रशासन र न्यायिक क्षेत्रमा भ्रष्टाचार र ढिलासुस्ती रहेको उल्लेख गर्नुभयो ।

देशमा भ्रष्टाचारलाई प्रोत्साहित गर्ने खालको नीति भएकोले संघीय, प्रादेशिक र स्थानीय सरकारले आवश्यक सेवा प्रवाह नगरेको उहाँले दावी गर्नुभयो । पार्टीले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न लागी परेको बताउनुहुँदै सुशासनका लागि आवश्यक सबै कानूनी प्रबन्ध गर्न र तिनको प्रभावकारी कार्यान्वयन गर्न संसद् र सरकारमा पहलकदमी लिने बताउनुभयो । भ्रष्टाचार सबैतिर भएकोले राजनीतिक पार्टीहरूको संरचना र कार्यप्रणालीले नै भष्टाचारलाई निरुत्साहित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । आफ्नो पार्टी सरकारमा हुँदा फासट्रयाकको उद्धघाटन माकवानपुरमाबाट गरेको बताउँदै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिक्षा स्वास्थ्यमा जनातालाई सम्पन्न बनाउनुपर्ने बताउनुभयो । पार्टीले भ्रष्टाचार अन्त्य गर्दै सुशासनको नारा लिएर हिँडेको बताउँदै सानो दल भएकोले केही समस्या आइपर्न सक्ने धारणा राख्नुभयो । देशमा वर्षेनी ८ लाखको संख्यामा युवा विदेश जान बाध्य भएको अवस्थामा सरकारले कृषिलाई आधुनीकीकरण गरी आफुलाई आवश्यक मल, बीउ स्वदेशमै उत्पादन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल आध्यक्षता भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल, पार्टी केन्द्रीय सचिव रामकुमारी झाक्री, पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेत, पार्टी स्थायी कमिटी सदस्य बिरोध खतिवडा लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।