हेटौँडाः १६औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हेटौँडामा शुक्रबार बिहानबाट सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३ सय खेलाडी सहभागी छन् । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।

हेटौँडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगिताको विजेता र उपविजेताका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले शिल्ड उपलब्ध गराएको छ । टाढाबाट आएका खेलाडीका लागि जिल्ला खेलकुद विकास समितिले आवासको व्यवस्था समेत गरिदिएको छ ।

उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, सदस्य शोभा घिमिरे, मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुशील घिमिरे, मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा, मकवानपुर जिल्ला हक्की संघका अध्यक्ष प्रतापसिं क्षेत्री, मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख माधव कोइरालाको पनि आतिथ्य रहेको थियो ।