![khelkud-7](https://samriddhasamaj.com/wp-content/uploads/2023/09/khelkud-7-696x392.jpg)
हेटौँडाः प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक वर्ष अन्तरप्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन् । बिहिबार हेटौँडामा सातवटै प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले यस्तो निर्णय गरेको हो । यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने भएका छन् ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्नेे निर्णय गरेको सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन् । प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद बागमती प्रदेशले आगामी फागुनमा आयोजना गर्दैछ । उक्त प्रतियोगितामा सहभागी हुने प्रदेशहरुले टिम तयारी आफ्नै खर्चमा गर्ने निर्णय भएको छ । स्थानीय तहबाट नै खेलाडी छनौट गरी प्रदेश टिम बनाउने गरी छलफल भएको भण्डारीले जानकारी गराएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुदमा प्रदेशसहित विभागीय र अन्य टिमको सहभागिता हुने गर्दछ भने अन्तरप्रदेश खेलकुदमा प्रदेश टिम मात्र सहभागी हुन पाउने छन् । प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बागमती प्रदेशले यसअघि नै निर्णय गरिसकेको छ भने आवश्यक बजेट समेत विनियोजन भइसकेको भण्डारीले बताएका छन् ।