हेटौँडामा तरुण दलको विरोध प्रदर्शन ।

हेटौँडाः सत्तारुढ नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले गृहमन्त्रीको राजिनामा मागेको छ । बुधबार काठमाडौंमा काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको विरोधमा तरुण दल मकवानपुरले बिहिबार हेटौँडामा विरोध प्रदर्शन गर्नुका साथै गृहमन्त्रीको राजिनामा मागेको हो ।

हेटौँडा–२ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निस्किएको तरुण दलको विरोध प्रदर्शन हेटौँडाको उद्योग वाणिज्य संघचोक, मेनरोड हुँदै हेटौँडाको मुख्यचोक बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्नुभएको छ । गृहप्रशासनले सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्रीले राजिनामा दिनुपर्ने उहाँको भनाइ थियो ।