स्वागतराज प्याकुरेल, अध्यक्ष, उद्योग संघ मकवानपुर

उद्योग संघ मकवानपुरले नवउद्यम प्रवद्र्धनका लागि कार्यशाला र कार्यशालाको उपलब्धीलाई प्रदर्शन गर्ने हाटको आयोजना गर्दैछ । उद्यमशीलता प्रवद्र्धनका लागि ओठे प्रतिवद्धता प्रसस्तै देखिए पनि प्रभावकारी योजना भने देखिँदैन । राज्यबाटै प्रभावकारी योजना बन्न नसकिरहेका बेला निजी क्षेत्रले आँटेको नवउद्यम कार्यशालाको तयारी र यसका उद्देश्यबारे उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः नवउद्यम भनेर नयाँ र रचनात्मक उद्यम व्यवसायमा क्षेत्रलाई प्रवर्धन गर्ने गरी कार्यशालाको आयोजना पहिलो पटक गर्दै हुनुहुन्छ, यसको तयारी र अवधारणा के हो ?
प्याकुरेलः
मूलतः २०७२ सालको भूकम्प र कोभिड–१९ पछि उद्यमीहरुले भोगेका समस्याहरु र अर्थतन्त्रमा देखिएको प्रभावहरुलाई हेरी नव प्रवद्र्धनको हिसाबले अगाडि बढौं । शैक्षक संस्था कलेजका विद्यार्थीलाई सहकार्य गरेर उद्योग व्यवसायमा प्रोत्साहन गर्नुपर्छ भन्ने सोचले नै यसको जन्म भएको हो ।

समाजः यो अवधारणा तपाईहरुले ल्याउनुभएको छ, कस्ता मानिसहरु यस नवउद्यमी अवधारणामा सहभागी हुन सक्ने अवस्था छ ?
प्याकुरेलः
हामीले यस संस्थामा आवेदन दिनका लागि कुनै उद्यामीले व्यवसाय दर्ता गरेको ५ वर्ष नकटेकालाई भनेर राखेका छौं । यसमा कुनै पनि व्यवसायले आवेदन दिन सक्नुहुन्छ । सुरुमा हामी बुटक्याम्प मार्फत २० जनालाई छनौट गर्छौं । नवप्रवद्र्धनमा महिला व्यवसायीलाई प्राथमिकता दिनेछौं । त्यस मध्येको ५ जनालाई छनौट गरी उहाँहरुलाई बिजनेस मिटिङको बारेमा सिकाएर १८ महिनासम्म सहयोग गर्छौं ।

समाजः उद्योग संघ मकवानपुरले विजनेस इन्कुवेसन सेन्टर पनि स्थापना गरेको छ । यसले चाँहि के गर्छ, यसको संरचना कस्तो छ ?
प्याकुरेलः
विजनेस इन्कुवेसन भनेको के हो भने जस्तो कि कुखुराको अण्डा राखेर चल्ला निकालिन्छ । त्यस्तै भर्खर स्थापित व्यवसाय सुरु गरेका मानिसलाई व्यवसाय दर्ता गर्नका लागि कुनै निकायमा जानुपर्ने हो कि, उसलाई पाउनुपर्ने सेवा सुविधाको बारेमा अनविज्ञ छ कि । आफुले थालेको व्यवसायका बारेमा कुनै विज्ञसँग छलफल गरेर थप बुझेर व्यवसाय गर्ने मन छ कि । मलाई व्यवसाय गर्न कुनै आफिस चाहिएको छ कि भन्ने जस्ता चिन्ता भएकाहरुको समस्याको भरपुर समाधान गर्ने संरचना हो । यो भौतिक संरचना मात्र नभई भर्चुअल सबै किसिमले यसले काम गर्छ । हामी उहाँहरुका लागि नेपालको विज्ञहरुले मात्र नभई देश बाहिरका विज्ञबाट परामर्श दिन सक्ने बनाउने अभ्यास गरिरहेका छौं ।

समाजः यसको स्थापना भएको कति समय भयो र यसले कति व्यवसायसँग समन्वय भइरहेको छ ?
प्याकुरेलः
उद्योग संघ मकवानपुरले नै गरेको अवधारणा ल्याएर जाने गरेको चाँहि ४÷५ वर्ष नै भइसक्यो । तर कुनै सरकारी निकायहरुसँग सहकार्य गर्ने गर्दागर्दै धेरै समय खेर फाल्यौं । हामीले बरु सानो र थोरैबाट सुरु गर्ने अब संरक्षण गर्नु पर्छ भनेर लागेका छौं । यस विषयमा हामी लगभग ६ महिना अगाडिदेखि नै स्थापनाको प्रक्रिया बढायौं । अहिले त्यही इन्कुवेसन सेन्टरमार्फत पहिलो व्याचमा नवउद्यमी बुटक्याम्प भनेर २० जनालाई निशुल्क रुपमा ४ दिने कार्यशालामा सहभागी गराएर १ दिनको हाटबजारमा उहाँहरुको प्रस्तुतीको अवसर दिलाउन खोजिरहेका छौं ।

समाजः यस नवउद्यमी कार्यशाला आयोजना गर्न र तपाइँरुले स्थापना गर्नुभएको इन्कुवेसन सेन्टरलाई प्रेरणा दिने विज्ञ जनशक्ति मकवानपुरमा कति उपलब्ध छन् र बाहिरबाट कति ल्याउनुपर्ने भएको छ ?
प्याकुरेलः
हामीले मकवानपुर जिल्लालाई अवमूल्यन गर्छौं जस्तो लाग्छ । मकवानपुरमा नेपालकै ठूलो औद्योगिक क्षैत्र पनि रहेको छ । उद्योग संघ मकवानपुरमा मात्रै १६० सदस्य छन् । अहिलेसम्म २१ जना उत्प्रेरकहरु जोडिएका छन् । अन्तर्राष्ट्रियरुपका नेदरल्याण्ड्सका कुम भन्ने संस्थाहरुमा काम गरिसकेका क्षमतावान व्यक्तिहरुलाई हामीले जोडिरहेका छौं । आफ्नो क्षमतालाई संसारलाई देखाउन आत्तुर भइसकेका व्यक्तिहरुसँग हाम्रो उत्प्रेरक टोलीले समन्वयन, सहकार्य गर्नुभएको छ ।

समाजः नवउद्यम कार्यशालाले भर्खर दर्ता भएका व्यवसायको चाहिँ प्रवद्र्धन, विकास र विस्तारको कुरालाई मात्र छलफल गछौं ?
प्याकुरेलः
यसले दर्ता भएका मात्र किन खोजिएको हो भने उनीहरु दर्ता भइसकेपछि केही न केही लक्ष्य लिएरै आएका हुन्छन् । ए यो कार्यक्रम त निशुल्क रहेछ, दर्ता नभएकाहरु आउँछन् भनेर नै दर्ता भइसकेको खोजिएको हो ।

समाजः तपाईहरुले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने भनेर प्रयत्न गर्नुभएको छ कि छैन ?
प्याकुरेलः
पहिला हामी जिल्लास्तरकै निकायसँग छलफल भएको हो । यसका लागि केही बजेट पनि छुट्याउने जस्ता कुरा अघि बढिसकेको थियो । यसलाई प्रदेशले ठूलो हिसाबले लानुपर्छ भनेको थियो । अघिल्लो आर्थिक वर्ष संघीय सरकारको बजेटले सात वटै प्रदेशमा एक÷एक वटा इन्कुवेसन सेन्टरको स्थापना गर्नका लागि २६ करोड छुट्याएको थियो । यसको सुरुआत हेटौंडा औद्योगिक क्षेत्रबाट गर्ने भनेपछि हामी झन् उत्साहित भयौं । यो चाहि हामीले वर्षैदेखि गरेको प्रयासले हो कि जस्तो पनि लागेको थियो । दुर्भाग्य त्यो कार्यक्रम लागु नै भएन ।

समाजः स्थानीय तहसँग तपाईहरुको छलफल कस्तो भयो ?
प्याकुरेलः
हामीले नगरपालिकासँग यसबारेमा छलफल गरेका छैनौं । किनभने जिल्लासँग गरेको छलफलले हामीलाई निराशामा पुगेपछि अघि बढाएन । यस मकवानपुर जिल्लाबाट एकजना मात्र उद्यमी निस्कियो भने हामीले केही न केही ग¥यौं भन्ने हुन्छ ।

समाजः तपाईहरुले स्थानीय तहसँग कमजोर आँक्नुभएर हो कि ? मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरुसँगको सहकार्य सम्भव हुन्थ्यो कि ?
प्याकुरेलः
हामीले मकवानपुरका स्थानीय तहहरुसँग कुरा गरेका छैनौं । हामीले चाहिँ पहिला केही न केही काम गरौँ । त्यसपछि काम गर्न सहज हुन्छ, केही न केही सहयोग आउँछ भनेर हामीले सोचेको छौँ ।

समाजः तपाईहरुले नवउद्यम कार्यशालामा सहभागिताका लागि २० भन्दा बढि आवेदक आयो भने कुन आधारमा छनौंट गर्नुहुन्छ ?
प्याकुरेलः
यसका लागि समिति गठन हुन्छ । छनौटका लागि ३ वटा प्रस्ट आधारहरु छन् । एउटा भनेको नवप्रवद्र्धक खालमा आधारित महिला व्यवसायीलाई बढि प्राथमिकता दिन्छौं । स्थानीय रुपमा उत्पादित कच्चा पदार्थको प्रयोग गर्ने उद्यमीको आवेदन आएमा विशेष जोड दिन्छौं ।

समाजः तपाईहरुले अपेक्षा गर्नुभएको २० जना आवेदक नपुगेको खण्डमा के गर्नुहुन्छ ?
प्याकुरेलः
हामी यस्तो २० जना मानिस पुगेन भने पनि उहाँहरुलाई फर्काउँदैनौं । जति जना आए पनि निराश गरेर पठाउने पक्षमा हामी छैनौं । हामी यो ४ दिनको कार्यशाला र एक दिनको हाट सम्पन्न गरेर नवउद्यम प्रवद्र्धनको अभियान सुरु गर्छौं ।

समाजः नवप्रवद्र्धनका गर्नका लागि तपाईहरुलाई प्रमुख चुनौती के जस्तो लाग्छ ?
प्याकुरेलः
हामीलाई सबैभन्दा मुख्य चुनौती भनेकै स्रोतको हो । उद्योग संघ मकवानपुर सामाजिक संस्थाको रुपमा रहेको छ । यससँग आफ्नो ठूलो बजेट छैन ।