हेटौंडाः मकवानपुर जिल्लाका ५ जना शिक्षक प्राथमिक तहको प्रथम श्रेणीमा बढुवा भएका छन् । सोमबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले बढुवा भएका शिक्षकहरुलाई बढुवापत्र प्रदान गरेको छ ।
शिक्षक सेवा आयोगबाट बढुवाका लागि सिफारिस भएका शिक्षकलाई बढुवापत्र वितरण गरिएको इकाई प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो । हेटौंडा–१८ स्थित जनप्रिय माध्यमिक विद्यालयका कृष्णप्रसाद अधिकारी, हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयका यशोदा थापा क्षेत्री प्रथम श्रेणीमा बढुवा हुनुभएको छ ।
यसैगरी, हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा मञ्जु खनाल, हेटौंडा–३ स्थित महेन्द्रकिरण माध्यमिक विद्यालयमा भीमप्रसाद दाहाल र हेटौंडा–१५ स्थित जनजागृति माध्यमिक विद्यालयमा नर्मदा बिडारी पोखरेल प्राथमिक तहको प्रथम श्रेणीमा बढुवा भएको प्रमुख गौतमले जानकारी दिनुभयो ।