विगतका वर्षहरुमा झैं यस वर्ष पनि भाद्र १४, १५ र १६ गते तीन दिनका लागि हेटौँडा–४ स्थित नवोदय शिशु सदन इंग्लिस सेकेण्डरी स्कूलको आयोजनामा नमूना संयुक्त राष्ट्रसंघको अभ्यास गरिएको थियो । सो कार्यक्रममा भारतको तर्फबाट युनेस्कोको प्रतिनिधि हुने मौका पाएँ । हाम्रो विद्यालयबाट यो वर्ष आठ जनाको प्रतिनिधित्व रहेको थियो । कक्षा सातबाट आयुष र रिवाज, नौबाट मिनु र सुहाना, कक्षा दशबाट आस्थासहित म र जेनिशा थियौं । मैले र जेनिशाले अघिल्लो वर्ष पनि भाग लिएका थियौं भने बाँकी सबै नयाँ थिए ।

यस अवधिमा मैले एक कुटनैतिक दूतको रुपमा इतिहासको, संस्कृति र कला संरक्षणको सम्बन्धमा आफ्ना विचारहरु दृढतापूर्वक राखेँ । युनेस्को विशेषगरी यिनै क्षेत्रहरुमा काम गर्ने संस्था हो । अझै पनि शिक्षा, विज्ञान तथा कला संस्कृति संरक्षण र यि क्षेत्रका नीति निर्माणमा धेरै काम गर्न बाँकी रहेको छ भन्ने धारणा समेत राखें । युनेस्कोले भारतमा खेल्नुपर्ने भूमिकाको विषयमा समेत मेरो विचार प्रकट गरें । साझा धरोहरलाई संरक्षण सम्बद्र्धन गर्नुको औचित्य पुष्टी गर्नतर्फ पनि मेरो प्रयास रह्यो । कुटनीतिज्ञमा आफ्ना कुराहरु चातुर्यपूर्ण ढंगबाट सभ्य भाषामा राख्न सक्ने, आफ्नो एजेन्डामा सहभागीहरुको ध्यानाकर्षण गराउन सक्ने तथा सम्बन्धित विषयको भरपुर ज्ञान हुनुपर्ने जस्ता गुण र सीप अत्यन्तै जरुरी हुने कुरा मैले यस कार्यक्रमबाट जान्न पाएँ । साथै मेरो आत्मविश्वासले अघिल्लो वर्ष भन्दा अझै बढि उचाई लिएको समेत मैले यो वर्ष अनुभव गरें ।

यस वर्ष अघिल्ला वर्ष भन्दा केही फरक साथीहरु पनि चिन्ने मौका पाएँ । यस वर्ष चितवन, नवलपरासी तथा रुपन्देही लगायत जिल्ला बाहिरका विद्यालयहरुबाट समेत विद्यार्थीहरुको सहभागिता रहेको थियो । नमूना संयुक्त राष्ट्रसंघमा हाम्रो सहभागिता मात्र कुटनीति र वादविवादमा सीमित रहेन । बरु साँस्कृतिक आदानप्रदान र मनोरञ्जनको क्षणहरुमा पनि रह्यो । सहभागीहरु बीचमा सामाजिकीकरणका लागि राखिएको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम र रात्रीभोजमा हाम्रो विद्यालयको तर्फबाट हामीले पनि तामाङ सेलो गीतमा प्रस्तुती दिएका थियौं । अन्तिम दिनमा विभिन्न समितिमा प्रतिनिधित्व गर्ने कुटनीतिक दुतहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । साथीहरुका साथसाथै मैले पनि त्यो पुरस्कार प्राप्त गर्न सफल भएको थिएँ ।

जेनिशा र रिवाज युएनईपीको क्रमशः अमेरिका र चीनका, सुहाना र मिनु अन्तर्राष्ट्रिय श्रम संगठनको क्रमशः चीन र जर्मनीका, आयुष युनेस्कोको तर्फबाट भुटानको प्रतिनिधि थिए । यस पटक कार्यक्रममा नेपालको नमूना प्रतिनिधि सभाको समेत अभ्यास गरिएको थियो । आस्थाले प्रतिनिधि सभामा काभ्रेपलान्चोकको तर्फबाट संघीय संसदको सस्यको रुपमा प्रतिनिधित्व गरेकी थिईन् । हामीले कक्षामा पढेका यी विषयहरु प्रत्यक्ष व्यवहारिक रुपमा अनुभव गर्न पायौं ।

यो एक अदभूत अनुभव हो । हामीले एक आपसमा आफ्ना अनुभवलाई बाँडिरहेका छौं । यो अनुभव अन्य विद्यार्थीहरुलाई समेत बाँड्ने बारे योजना बनाउँदै छौं । आउने वर्षहरुमा हाम्रो विद्यालयमा समेत यो नमूना अभ्यास गर्नेतर्फ हामीले सोच बनाएका छौं । यहाँ कक्षा सातका रिवाज श्रेष्ठको अनुभवलाई साभार गर्दा यस कार्यक्रमको सारांश हुन्छ भन्ने मलाई लाग्दछ । उसको भनाई थियो, “यो कार्यक्रमले मेरो सोच्ने र कुनै कुरालाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । अथार्त सिक्ने कसरी रहेछ भनेर मैले जान्न पाएको छु ।”