पछिल्लो समय बजारमा तरकारीको मूल्यमा निकै उतारचढाव भइरहेको छ । प्रायः सबैजसो तरकारी र अचारका लागि प्रयोग हुने गोलभेंडाको मूल्य अचाक्ली बढ्दा आम उपभोक्ता मारमा परेका छन् । केही दिनअघि घट्न थालेको गोलभेंडाको मूल्य फेरि बढ्न थालेपछि मूल्य घटबढ हुनुको कारण खोज्नुपर्ने आवश्यकता बनेको छ । गोलभेंडामात्र होइन, नेपाली बजारमा प्याज, लसुन, अदुवाजस्ता भान्सामा नियमित प्रयोग हुने वस्तुको मूल्यवृद्धि पनि स्वभाविक छैन । विशेषगरी भारतीय तथा चिनियाँ बजारमा निर्भर लसुन, प्याजको मूल्यवृद्धिको बाह्य कारण हुनसक्ने भए पनि नेपालमै पर्याप्त उत्पादन हुने अदुवाको मूल्य पनि स्वभाविक छैन । आम उपभोक्ताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने गरी सबैजसो तरकारीको मूल्यवृद्धि भइरहेको छ । यस्तै, दाल, चामल, पिठो, जिरा, चिनीलगायत वस्तुको मूल्य पनि निकै बढिरहेको छ । खाद्यान्न, गेडागुडी, तरकारी, दुग्ध पदार्थ, माछामासु, फलफूललगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धिले आम उपभोक्तालाई प्रत्यक्ष असर पर्दछ । अत्यावश्यक वस्तुको मूल्यवृद्धिले आम सर्वसाधारणको दैनिकी प्रभावित भइरहेको छ ।

पछिल्लो समय तरकारीमा भइरहेको मूल्यवृद्धिले न्यून आय भएका उपभोक्तालाई बिहान–बेलुकाको छाक टार्न मुस्किल पर्दै गएको छ । न्यून आम्दानी भएका उपभोक्ताले एक छाकमा एकथरी तरकारी पकाउनसम्म मुस्किल पर्ने अवस्था आउने सम्भावना बढेको छ । सामान्य कमाई भएका उपभोक्ताका लागि भान्छाको तरकारी नै महंगो बन्न पुगेको छ । तरकारी र अन्य उपभोग्य वस्तसको आकाशिएको मूल्यले आम सर्वसाधारणका चुलोलाई प्रभावित पार्ने अवस्था बन्न लागेको छ । बजारमा कुनै पनि वस्तुको मूल्य बढ्नका लागि कुनै उपयुक्त कारण आवश्यक हुन्छ । बिनाकारण मूल्यवृद्धि हुन सक्दैन । वस्तुको माग र पूर्तिका कारण केही वस्तुको मूल्यमा अल्पकालीन र सामान्य प्रभाव पर्ने भए पनि सबै वस्तुको मूल्यवृद्धिमा त्यसलाई उचित कारण मान्न सकिँदैन । राज्यले कर बढाएमा, ढुवानी भाडा वृद्धि भएमा, कच्चापदार्थको मूल्य बढेमा, श्रमिकको ज्याला बढेमा वस्तुको मूल्यवृद्धि हुनसक्छ, जसलाई जायज कारण मानिन्छ ।

विभिन्न प्राकृतिक प्रकोप, बन्द–हड्तालजस्ता कारणले मागअ र आपूर्तिबीच सन्तुलन हुन नसक्दा मूल्यमा घटबढ हुनु स्वभाविक भए पनि नेपाली बजारमा यो विशेषताले काम गर्ने गरेको छैन । नेपाली बजारमा वस्तुको मूल्यवृद्धि हुनका लागि केही कारण नै चाहिँदैन । बजारमा वर्चश्व जमाएर बसेका बिचौलियाले चाहेमा वस्तुको मूल्य बढ्ने वा घट्ने अवस्था हाम्रो बजारको विशेषता बनेको छ । वस्तुको आपूर्तिमा केही कमी वा मागमा केही वृद्धि हुनेबित्तिकै बिचौलियाले आपसी मिलेमतो गरेर वस्तुको अस्वभाविक मूल्यवृद्धि गर्दछन् । अहिले खाद्यान्न, तरकारीलगायत अन्य उपभोग्य वस्तुको मूल्यवृद्धिको मुख्य कारण पनि यही हुनसक्छ । सामान्यरुपमा हेर्दा आजको भोलि नै तरकारीको मूल्य ५० देखि शतप्रतिशतसम्म वृद्धि हुनुलाई अन्य स्वभाविक कारणको प्रभाव मान्न सकिँदैन । तरकारीको बजारीकरणमा देखिएका बिचौलिया तथा व्यवसायीहरुकै मिलेमतोबाट तरकारी मूल्य निर्धारण हुने कारण तरकारीको मूल्यवृद्धिमा कुनै खास कारण आवश्यक नहुने सहजै अनुमागन गर्न सकिन्छ ।

मागअनुसारको आपुर्ति हुन नसकेकाले मूल्य बढेको भनिए पनि त्यतिमात्र मूल्यवृद्धिको कारण नहुनसक्छ । अनियन्त्रित र अस्वभाविक ढंगले तरकारीको मूल्यमा उतारचढाव भइरहँदा नियमनकारी निकाय उदासिन बनिदिनुले बजारमा थप अराजकता बढ्ने सम्भावना देखिन्छ । तरकारी तथा अन्य वस्तुको बजारमा दिनहुँ भइरहने मूल्यान्तरले किसान र उपभोक्ता दुबैलाई फाइदा हुँदैन । यसको फाइदा केबल बिचौलिया र व्यवसायीले उठाउँछन् । सामान्यतयाः किसानसँगै सधैंजसो एउटै मूल्यमा खरिद गरेर ल्याउने गरिएको भए पनि बिचौलियाले अस्वभाविक मूल्यवृद्धि गरेर उपभोक्तालाई महंगोमा बिक्री गर्ने परिपाटीको अन्त्यका लागि मूल्यवृद्धिको उपयुक्त कारणको खोजी गर्नु आवश्यक हुन्छ । यसका लागि सरकारले मूल्य निर्धारणसम्बन्धी स्पष्ट नीतिगत र कानुनी व्यवस्था गर्नुका साथै नियमनकारी निकाय चनाखो बन्नुपर्छ । सम्बद्ध निकायले मूल्यवृद्धिका कारण खोजी गर्दै बजारमा देखिने बिचौलियाको बिगबिगी अन्त्य गर्नु आवश्यक छ ।