जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट ५ मा पर्न सफल विद्यार्थी ।

हेटौँडाः अक्षर मिलाएर शब्द बनाई खेलिने खेल स्क्र्याबल प्रतियोगिता हेटौँडामा भएको छ । हेटौँडा–४ स्थित नवोदय शिशु सदन इंग्लिस सेकेण्डरी स्कूलमा आइतबार भएको तेश्रो जिल्लास्तरीय स्क्र्याबल प्रतियोगितामा उत्कृष्ट ५ जना विद्यार्थी छानिएका छन् । ती विद्यार्थीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

जिल्लास्तरीय प्रतियोगिताबाट नवोदय शिशु सदनका चिराग डंगोल, बालजागृति इंग्लिस सेकेण्डरी स्कुलका प्रसिद्ध तिमल्सिना र आरुष राजथला, बंशगोपाल माविका गौरव श्रेष्ठ र युनाइटेड स्कूलका प्रकृति सेढाई उत्कृष्ट ५ मा परेका छन् । स्क्रेबल क्लब मकवानपुरका संयोजक विवशजङ्ग थापाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

स्क्र्याबल प्रतियोगितामा मकवानपुर जिल्लाका ९ वटा विद्यालयका २० जना विद्यार्थी सहभागी भएका थिए । हेटौँडा–७ स्थित तासिर इंग्लिस सेकेन्डरी स्कुल, हेटौँडा–६ स्थित सुनगाभा शिक्षा निकेतन, हेटौँडा–२ स्थित बालजागृति बोडिङ्ग स्कूल, हेटौँडा–४ स्थित नवोदय शिशु सदन इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–११ स्थित हेटौंडा एकेडेमी, हेटौँडा–१९ स्थित निर्मल मावि, हेटौँडा–६ स्थित वंशगोपाल मावि र मनहरी गाउँपालिकास्थित युनाइटेड स्कुलका विद्यार्थी सहभागी थिए । ४० मिनेटको ५ राउण्ड खेलाइएको थियो । आइतबार एक दिवसीय प्रतियोगितामा स्क्र्याबल क्लब पोखराका प्रमुख एवम् प्रशिक्षक अर्जुन पाण्डे निर्णायक हुनुहुन्थ्यो । उहाँले खेलको नियमबारे जानकारी दिनुभएको थियो ।