स्वास्थ्य परीक्षण गर्नुहुँदै डा. गजल पन्त ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा नवनियुक्त डाक्टरले स्वास्थ्य परीक्षण कार्य सुरु गर्नु भएको छ । झण्डै एक वर्षपछि राक्सिराङ गाउँपालिकाको आधारभूत अस्पतालमा डा. गजल पन्तले सोमबारबाट सेवा सुरु गर्नुभएको हो । राक्सिराङ गाउँपालिका पुगेर सेवा प्रदान गर्नुहुने डा. पन्त तेस्रो चिकित्सक हुनुहुन्छ । यसअघि पहिलो चिकित्सकको रुपमा डा. धनबहादुर खत्री र दोस्रो चिकित्सकको रुपमा डा. सुवास बरालले सेवा गर्नुभएको थियो ।

संघीय सरकारले दिने मेडिकल अधिकृतको सुविधा बराबरनै भत्ता दिने गरी गाउँपालिकाले डा. पन्तलाई नियुक्त गरेको हो । यसअघि पनि गाउँपालिकाले तलब बराबरकै भत्ता दिएर मेडिकल अधिकृतलाई गाउँमा राखेको थियो । डा. पन्तले आइतबार नियुक्तिपत्र बुझ्नु भएको र सोमबारबाट सेवा सुरु गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले जानकारी दिनुभयो । डा. पन्त हेटौँडाका स्थायीबासी हुनुहुन्छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमा र स्वास्थ्य बस सेवालाई महत्वपूर्ण कार्यक्रमको रुपमा कार्यान्वयन गर्न लागेको छ । गत आर्थिक वर्षको १५ लाख रुपैयाँ र चालु आर्थिक वर्षको १० लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ बजेट रहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय काप्रीले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा ५ सय परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराउने गाउँपालिकाको लक्ष्य रहेको छ ।

यस्तै चालु आर्थिक वर्षमा राक्सिराङ गाउँपालिकाले स्वास्थ्य बस सञ्चालन गर्ने योजना बनाएको छ । स्वास्थ्य परीक्षण गर्न आवश्यक गाउँवासीलाई उनीहरुको घरदैलोबाटै ल्याएर गाउँपालिकाको आधारभूत अस्पतालमा उपचार गरेर उनीहरुलाई घरदैलोमै फिर्ता पुर्याउने गरी स्वास्थ्य बस सञ्चालन गर्न लागिएको स्वास्थ्य प्रमुख काप्रीले बताउनुभयो । यस्तै गाउँपालिकाले चालु आर्थिक वर्षमै स्वास्थ्य संस्थामै प्रसुती सेवा लिनेलाई ३ दिनसम्म निशूल्क खाना खुवाउन बजेट बिनियोजन गरेको छ । यसबाट स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रेरित हुने पालिकाको अपेक्षा रहेको छ ।