आइतबार संघीय संसदको पूर्वाधार विकास समितिको सभापति पदमा उम्मेदवारी दर्ता गराउनुहुँदै दीपक बहादुर सिंह । तस्वीरः अनलाइनखबर ।

हेटौँडाः मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह संसदको पूर्वाधार विकास समितिको सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनमा संसदको पूर्वाधार विकास समितिमा राप्रपाका नेता सिंहको एकल उम्मेदवारी परेको थियो । दलहरुबीच संसदीय समितिमा भागबण्डा मिलेसँगै सिंहसहित संसदको १० वटै समितिको सभापति सर्वसम्मत चयन भएका छन् ।

संसदीय समितिमा कांग्रेसलाई तीन, एमालेलाई दुई, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी र जनमतलाई १–१ वटा समितिको नेतृत्व प्रदान गर्ने सहमति भएको थियो । १० वटा समिति मध्ये आइतबार ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै निर्विरोध भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै पक्षसँग गठबन्धन नगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएको थियो । पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि उक्त समितिमा जनमतका अब्दुल खान निर्विरोध निर्वाचित भएका हुन् ।

अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् । त्यस्तै, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् ।

संसद् सुरु भएको साढे ७ महिनापछि संसदीय समितिले नेतृत्व पाएको हो । २०७९ पुस अन्तिम साता संसद्को पहिलो बैठक बसेको थियो भने वैशाख १५ मा संसदीय समिति गठन भएका थिए । तर दलहरूबीचको द्वन्द्व, भागबन्डा र गुटबन्दीका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । संसदीय समितिहरूले गठनको ४ महिनामा बल्ल नेतृत्व पाएका हुन् ।