हामीले भन्दै र सुन्दै आएका छौं बालबालिकाको पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै हो । वास्तवमा एउटा सफल अभिभावकत्वका लागि अभिभावकहरु शिक्षक, सहजकर्ता, आदर्श व्यक्तित्व, प्रेरणाको स्रोत जस्ता थुप्रै भूमिका निर्वाह गर्नुपर्छ । विभिन्न अनुसन्धान र खोजबाट यो प्रमाणित भएको छ कि जब अभिभावक स्वयम् बालबालिकाहरुको सिकाइका लागि सहभागी हुन्छन् तब बच्चाले प्रभावकारी रुपमा राम्रो अध्ययन र सिकाइ गर्न थाल्छ । हामीसँग आफ्ना बालबालिकाहरुका लागि पर्याप्त समय संलग्नता सहकार्य गर्ने शैली नहुँदा र नगर्दा उनीहरुको बीचको सम्बन्धमा समेत फाटो आउन सक्छ ।
बालबालिकाका लागि सबैभन्दा महत्वपूर्ण सम्बन्ध भनेको उनीहरुले आफ्नो अभिभावकसँग विकास गर्ने नै हो । उनीहरुले हामीसँगको सकारात्मक सम्बन्ध मार्फत नै आफ्नो वरपरको संसारको बारेमा सिक्छन् । तपाई र तपाईको बालबालिकाहरुको सम्बन्ध सही बनाउने कुनै गोप्य पुस्तक, जादुको छडी छैन तर सम्बन्धमा फाटो ल्याउन सक्ने र सुमधुर सम्बन्ध स्थापनाका थुप्रै कठिनाइहरु छन् । यदि तपाईले आफ्ना सन्तानप्रतिको सम्बन्धमा प्रगाढता ल्याउनुभयो भने पक्कै पनि तपाईका बालबालिकाहरु फक्रने मात्र होइन फुल्नेछन् ।
तपाई र तपाईका बालबालिका बीचको सम्बन्धलाई बलियो बनाउने केहि महत्वपूर्ण तरिकाहरुः
१.आफ्नो प्रेम देखाउनुहोस्
हाम्रो संवेगात्मक, भावनात्मक र न्युरोबायोजिकल विकासका लागि माया, प्रेम, स्नेह आवश्यक छ । त्यसैले तपाईभित्रको मायालु स्पर्शलाई देखाउनुस् । प्रत्येक अन्तरक्रियालाई आफ्नो बच्चासँग जोड्ने अवसरको रुपमा व्यवहार गर्नुहोस् । मुस्कानसहित उसका इमान्दार अन्तरक्रिया र अभिव्यक्तिलाई सुन्नुहोस् ।
२. कुराकानी गर्नुहोस् –
बालबालिकाको भावना व्यक्त गर्ने अवसर दिनुपर्छ र कुराकानी गर्दा बालबालिकाले सरल र सहज तरिकाले बुझ्ने गरी पूर्णवाक्यको प्रयोग गर्नुहोस् र बालबालिकालाई पनि सोही अनुसार गराउनुहोस् । कुराकानीले सम्बन्ध मात्र होइन तर्क गर्ने क्षमता, शब्दावलीको विकास, आधारभूत सुनाइ– बोलाइ सीप सुनिश्चित गरी साँचो, स्पष्ट र सही बोल्न सिक्छन् ।
३. प्रशंसा गर्ने बानी गर्नुहोस्
बालबालिकाहरुको राम्रो कामको प्रशंसा गर्नाले उनीहरुले तपाईप्रति विश्वास र भरोसा गर्न थाल्छन् जसले सम्बन्ध स्थापनामा प्रगाढता ल्याउँछ । प्रशंसाले सकारात्मक हौसला र अझ राम्रा कार्य गर्नमा अभिप्रेरित गर्दछ ।
४. सँगै खेल्नुहोस्
बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेल धेरै महत्वपूर्ण छ । समय मिलाएर तपाई पनि उनीहरुसँगै खेल खेल्नुहोस् । खेलबाट नै भाषा अभिव्यक्त सीप, सामाजिक सीप, सृजनशीलता र सामाजिक सीपहरु सिक्छन् । यो रमाइलो तरिकाबाट तपाई आफ्नो बच्चासँगको सम्बन्ध बलियो बनाउन सक्नुहुन्छ ।
५. बालबालिकालाई सुन्नुहोस् र समानुभूति देखाउनुहोस्
बच्चाको भावनालाई स्वीकार गर्नुहोस् र हरपल आवश्यक पर्दा तपाई बच्चासँगै हुनुहुन्छ भन्ने आभाष दिएर विश्वस्त पार्नुहोस् । पारस्परिक सम्बन्धका लागि बच्चाका कुरा सुन्नु र समानुभूति देखाउनु महत्पूर्ण छ ।
६. समय दिनुहोस्
अभिभावक स्वयम् इलेक्ट्रोनिक उपकरणहरुलाई टाढा राखी प्रत्येक दिन केहि निश्चित समय छुट्टाई बालबालिकासँगको गुणस्तरीय समयसँगै बिताउनुहोस् । साधारण गफगाफ, ठट्टा रमाइलोदेखि महत्वपूर्ण निर्णयमा समेत बालबालिकालाई समय दिनुहोस् । यसो गर्नाले उनीहरुमा पारिवारिक दायित्व र अपनत्व बोध हुन्छ र भविष्यमा समेत समय निर्धारण गरेर काम गर्न सहजता हुन्छ ।
७. बालबालिकाहरुको रोजाईलाई सम्मान गरी अपेक्षाहरुको सन्तुलन गर्नुहोस् । तपाईको इच्छा आकाङ्क्षा विपरित बालबालिकाहरुको रोजाई भए तापनि सकारात्मक पुनःबलसहित त्यसलाई सन्तुलनमा ल्याउनुहोस् र तपाईले उनीहरुको रोजाईमा समर्थन गरेको बोध गराउनुहोस् ।
८. एक्लै प्राइभेसीका लागि समय दिनुहोस्ः बालबालिकाहरुले नयाँ विचार, भावना र सामाजिक चासोहरु खोजिरहेका हुन्छन् भने नयाँ विचारहरु प्रस्फूटन र सिर्जना गर्नका लागि शान्त दिमाग उर्वरभूमि हो । त्यसैले उनीहरुलाई एक्लै काम गर्ने समय दिनुहोस् । यसले उनीहरुलाई आफूलाई चिन्न पनि सहयोग गर्दछ । आवश्यकताअनुसार बालबालिकाहरुलाई आफ्नो व्यक्तिगत समय प्राइभेसीको लागि पनि छोडिदिनुस् तर अप्रत्यक्ष रुपमा निगरानीमा राखी राख्नु होस् ।
९. सीमा, नियमहरु सेट गर्नुहोस्
बालबालिकालाई संरचना र निर्देशन चाहिन्छ । जब बालबालिकाहरुले वरपरको वातावरण र संसारलाई जान्न खोज्दछन् या घुलमिल हुन खोज्छन् तब तपाई र बालबालिकासँगै मिलेर सीमा, नियम र परिणामहरुको खाका कोर्नुहोस् र निश्चित गर्नुहोस् ।
१०. भावनाहरु बुझिदिनुस् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा व्यक्त गर्न सकिने र व्यक्त गर्न नसकिने बालबालिकाहरुको भावनालाई बुझ्नुहोस् र अभिव्यक्त गर्ने वातावरण तयार पार्नुहोस् । जसले गर्दा बालबालिकाहरु खुल्छन् र तपाईसँगको मित्रवत् व्यवहार प्रकट गर्दछन् । सबै बालबालिकाहरु फरक छन् उनीहरुको क्षमता फरक छ विचार फरक छ । साँस्कृतिक र व्यक्तिगत पक्षहरु फरक छन् । त्यसैले प्रत्येक बच्चालाई स्पष्ट रुपमा राम्ररी बुझ्नका लागि आत्मिय सम्बन्ध बनाउनु एकदमै अपरिहार्य छ । (लेखक हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीको शिक्षक हुनुहुन्छ ।)