देवघाटः साहित्यकार तुल्सी थापाको शनिबार बिहान चितवनको देवघाटमा अन्त्येष्टि गरिएको छ । ७८ वर्षको उमेरमा शुक्रबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा थापाको निधन भएको थियो । परिवारका सदस्य, आफन्त, साहित्य, शिक्षा क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा थापाको अन्त्येष्टि गरिएको छ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका भैँसेमा वि.सं. २००२ असोज ३ गते आमा उमादेवी थापाको कोखबाट जन्मनुभएका थापा हेटौँडा–११ मा बस्दै आउनुभएको थियो । शिक्षण पेशाबाट निवृत्त हुनुभएपछि थापाले साहित्यमा विशेष योगदान दिनुभएको छ । थापाको दाना कविता संग्रह “एक निमेष अनन्तको (२०५८)”, “अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)” र कथासंग्रह “फरक आकाश (२०७२)” प्रकाशित छन् । थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवात समेत गर्नुभएको छ ।
थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ । सरकारी शिक्षकबाट निवृत्त पश्चात् थापाले हेटौँडाका २ वटा संस्थागत विद्यालयमा एकेडेमिक एडभाइजर र प्रधानाध्यापकको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।