२० वर्षभन्दा कम उमेरमा विवाह गर्ने गराउने काम गैरकानुनी भएपनि बालविवाह अन्त्य हुन सकेको छैन । बालविवाह कम हुन नसकेको तथ्यलाई किशोरावस्थामै गर्भवती हुने र आमा बन्नेको संख्याले पनि पुष्टि गरिरहेको छ । २० वर्ष उमेर पुगेपछि विवाह गर्नुपर्ने कानुनी व्यवस्था भए कतिपय किशोरीले २० वर्षभित्रै दोस्रो र तेस्रो सन्तान जन्माएको पाइएको छ । बालविवाह कानुनीरुपमा दण्डनीय बनाइएको दशकौं भइसक्दा पनि बाल विवाह अन्त्य हुन नसक्नुले कानुन कार्यान्वयनको अवस्था निकै कमजो र सावित गरिहे को छ । त्यतिमात्र नभई बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायले विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको भए पनि प्रभावहीन बनिरहेको छ । जटिल सामाजिक समस्या र कानु नीरुपमा दण्डनीय बालविवाहले निरन्तरता पाउनु भनेको हाम्रो समाज सचेत हुन नसकेको मान्नैपर्छ । पछिल्लो समय करिब ९८ प्रतिशत बालबालिका औपचारिक शिक्षामा संलग्न भइरहेको भए पनि उक्त शिक्षाले पनि बालविवाह रोक्न सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र हेटौंडा अस्पतालमा ५७ जना किशोरी आमा बनेका छन् । अस्पतालमा साउन महिनामा गर्भवती भएका ४ सय जनामध्ये २० वर्षभन्दा कम उमेरका ५७ जना सुत्केरी भएका हुन् । सुत्केरी हुने कुल संख्याको १४ प्रतिशतभन्दा बढी २० वर्षभन्दा कम उमेरको रहेको देखिएको छ । सामान्य अवस्थामा सुत्केरी हुने २ सय ६९ जनामध्ये ४५ जना २० वर्षभन्दा कम उमेरका छन् भने १ सय ३१ जनाको शल्यक्रिया गरी सुत्केरी गराउँदा १२ जना २० वर्षभन्दा कम उमेरका छन् । गत आर्थिक वर्ष (२०७९/०८०)को साउनदेखि असारसम्म हेटौंडा अस्पतालमा ४ सय ७९ जनाले २० वर्षभन्दा कम उमेरमै शिशुलाई जन्म दिएका थिए । उक्त तथ्यांकको आधारमा हेटौंडा अस्पतालमा प्रसुति सेवा लिएकामध्ये प्रत्येक महिना औसत ४० जना किशोरी आमा बन्ने गरेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष (२०७८/०७९)मा हेटौंडा अस्पतालबाट २ सय ३५ किशोरीले सन्तानलाई जन्म दिएका थिए । यस तथ्यांकले मासिक औसत २० जना किशोरीले हेटौंडा अस्पतालमा प्रसुति गराएको देखाउँछ । पछिल्ला दुई वर्षको तथ्यांकले २० वर्ष भन्दा कम उमेरमै आमा बन्ने किशोरीको संख्या दोब्बर वृद्धि भएको देखिन्छ ।
२० वर्षको उमेरमै एक किशोरीले तेस्रो सन्तान जन्माएकी छिन् भने १९ वर्षकी २ र १८ वर्षकी ३ किशोरीले दोस्रो सन्तान जन्माएका छन् । साउनमा हेटौंडा उपमहानगरकाभित्रको मात्रै २९ जना किशोरी २० वर्षभन्दा कम उमेरमै आमा बनेकी हुन् । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका ६, बकैया गाउँ पालिकाका ४, बागमती गाउँ पालिकाका २, भीमफेदी गाउँपालिकाका २, मकवानपुरगढी गाउँपालिकाका एक किशोरीले २० वर्षभन्दा कम उमेरमै सन्तानलाई जन्म दिएका छन् । यस्तै, बारा जिल्लाका १०, सिन्धुली, सर्लाही र पर्सा जिल्लाका एक÷एक जना २० वर्षभन्दा कम उमेरका किशोरीले हेटौंडा अस्पतालमा सन्तान जन्माएका छन् ।
मुलुकको कानुनले महिला तथा पुरुष दुबैको विवाहयोग्य उमेर २० वर्ष तोकेको छ । तर, २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेमात्र नभई २० वर्षभन्दा कम उमेरमै आमा बन्नेको संख्या उल्लेख्य रहनु चिन्ताको विषय बनेको छ । २० वर्षभन्दा कम उमेरमै विवाह गरेर सन्तान जन्माउँदा शिशु र आमा दुबैलाई जोखिम हुने भए पनि किशोरी आमाहरुको संख्या उल्लेख्य रहनुलाई सामान्य मान्न सकिँदैन । बालापनमा रमाउने, खेल्ने तथा लेखपढ गर्ने उमेरमै विवाह गर्नु र सन्तान जन्माएर जोखिम निम्त्याउने अवस्था कम नहुनु चिन्ताको विषय बनिरहेको छ । मकवानपुर जिल्लाका ३ वटा गाउँ पालिका बालविवाहमुक्त घोषणा भएर बालमै त्री पालिका घोषणा भइसकेको र हेटौंडा उपमहानगरपालिकालाई पनि आगामी मंसिरभित्र बालमैत्री घोषणा गर्ने तयारी भइरहेको अवस्थामा किशोरी आमाको संख्या उल्लेख्य वृद्धि हुनुलाई गम्भीररुपमा लिनु आवश्यक देखिन्छ ।