हेटौँडा अस्पतालमा नवजात शिशुलाई हेर्दै बाबु ।

हेटौँडाः हेटौँडा अस्पतालमा साउन महिनामा ४ सय गर्भवती सुत्केरी हुँदा २० वर्षभन्दा कम उमेरका ५७ जना सुत्केरी भएका छन् । हेटौँडा अस्पतालको प्रसुती वार्डमा सामान्य अवस्थामा सुत्केरी हुने २ सय ६९ जना मध्ये ४५ जना २० वर्षभन्दा कम उमेरका छन् भने १ सय ३१ जनाको शल्यक्रिया गरी सुत्केरी गराउँदा १२ जना २० वर्षभन्दा कम उमेरका छन् ।

हेटौँंडा–१२ की एक किशोरीले २० वर्षको उमेरमा तेस्रो सन्तान जन्माएकी छिन् । यस्तै हेटौँडा–१ की १८ वर्षीया तीन किशोरी, १९ वर्षीया एक किशोरी र हेटौँडा–६ की एक १९ वर्षीया किशोरीले दोस्रो सन्तान जन्माएका छन् । हेटौँडा उपमहानगरका २९ जना किशोरीले २० वर्षभन्दा कम उमेरका साउन महिनामा हेटौँडा अस्पतालमा प्रसुती सेवा लिएका छन् । २५ जनाले सामान्य सुत्केरी सेवा लिएका छन् भने ४ जनाको शल्यक्रिया गरी शिशु निकालिएको छ ।

हेटौँडा उपमहानगरपछि बारा जिल्लाका १० जना २० वर्षभन्दा कम उमेरका किशोरीले साउन महिनामा हेटौँडा अस्पतालमा सन्तान जन्माएका छन् । बाराका ४ किशोरीले सामान्य अवस्थामा सन्तान जन्माएका छन् भने ६ किशोरीको शल्यक्रिया गरी शिशु निकालिएको छ । मनहरी गाउँपालिकाका ६, बकैया गाउँपालिकाका ४, बागमती गाउँपालिकाका २, भीमफेदी गाउँपालिकाका २, मकवानपुरगढी गाउँपालिका, सिन्धुली, सर्लाही र पर्सा जिल्लाका २० वर्षभन्दा कम उमेरका एक/एक जना किशोरीले हेटौँडा अस्पतालमा सन्तान जन्माएका छन् । नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुलाई दण्डनीय अपराध ठहर्याए पनि २० वर्ष भन्दा कम उमेरमै आमा बन्ने किशोरीको संख्या भने उल्लेख्य रहेको छ ।

हेटौँडा अस्पतालमा अहिले ५ जना महिला तथा प्रसुती स्वास्थ्य विशेषज्ञ हुनुहुन्छ । डा. राम काजी महर्जन, डा. राघवेन्द्र ठाकुर, डा. विदुर भण्डारी, डा. ज्योति मुडभरी, डा. अस्मिता ओली र डा. प्रशान्त शर्मा महिला तथा प्रसुती स्वास्थ्य विशेषज्ञको रुपमा हेटौँडा अस्पतालमा कार्यरत हुनुहुन्छ । आकस्मिकरुपमा २४ घण्टा नै शल्यक्रिया सेवा प्रदान गर्दै आएको हेटौँडा अस्पतालले मंगलबार र शुक्रबार प्रसुतीतर्फ शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । साउन महिनामा ९९ गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको छ भने ३२ जनाको नियमित तालिकामा शल्यक्रिया गरिएको छ ।

हेटौँडा अस्पतालमा एकैदिन १४ जना गर्भवतीको शल्यक्रिया गरिएको अस्पतालका अधिकारीले जनाएका छन् । हेटौँडा अस्पतालमा नवजात शिशुका लागि अति सघन उपचार कक्ष (एनआईसीयु) नभएका कारण प्रसुतीपछि तत्कालै नवजात शिशुमा देखापर्ने समस्या जटिल हुने गरेको छ । एनआईसीयुकै अभावमा साउन महिनामा ५ नवजात शिशु र सुत्केरीलाई अन्यत्र रिफर गर्नुपरेको थियो ।