बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको भवन ।

हेटौँडाः बागमती प्रदेश सरकारमातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गतेदेखि सामान्य बेडहरु निःशुल्क हुनेछ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले साउन २२ गते निर्णय गरेर अस्पतालमा सामान्य बेडहरु सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन परिपत्र गरेको छ । प्रदेश सरकार मातहतको हेटौँडा अस्पतालले सामान्य बेडमा भर्ना शूल्क एक सय रुपैयाँ तोकेको छ ।

सरकारी अस्पतालमा उपलब्ध रहेको बेडहरु मध्येबाट क्याविन, एनआईसीयू र आईसीयू बाहेकका अन्य सम्पूर्ण बेड निःशुल्क रुपमा प्रदान गर्न भनिएको छ । अस्पतालहरुमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपाङ्ग वर्ग क र ख, विपन्न, बेवारिसे बिरामीहरुको उपचार व्यवस्थित गर्ने निर्णय भएको बताइएको छ । मन्त्रालयले अस्पतालहरुलाई सामाजिक सेवा इकाईबाट पुनर्वास सेवा र फिजियोथेरापी सेवा पनि निःशुल्क रुपमा बिरामीहरुलाई उपलब्ध गराउन भनेको छ ।

बागमती प्रदेश सरकार मातहतको त्रिशुली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, रसुवा अस्पताल, जिल्ला अस्पताल रामेछाप, चौतारा अस्पताल, सिन्धुली अस्पताल, बकुलर रत्ननगर अस्पताल, टोखा अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, मेथिनकोटा अस्पताल र चरिकोट अस्पतालमा भदौ १ गतेदेखि यस किसिमको सेवा प्राप्त गर्न सकिनेछ । बिरामीहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउन्, आर्थिक कारणले उपचाराट बञ्चित नहोस् भनी स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।