कोदो रोप्दै मकवानपुरगढीका किसान ।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा कोदो रोप्न सुरु गरिएको छ । मकवानपुरगढी–४ कालीखोला लगायत क्षेत्रका किसानहरुले यस बर्षको कोदो बाली रोप्न सुरु गरेका हुन् । पानी परेपछि गत साउन २८ गतेदेखि कोदो रोप्न सुरु गरिएको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

मकै भित्र्याएसँगै किसानहरुले खाली पाखो जमिनमा कोदो बाली लगाउने गर्छन् । कृषि प्राविधिक चौधरीका अनुसार कृषक कुमारी लामाले गत वर्ष १० कठ्ठा जग्गामा कोदो रोप्नुभएको थियो । जसमा ६ सय केजी उत्पादन भएको मध्ये ४ सय ५० केजी भने बिक्री गरी आम्दानी लिनुभएको थियो । उहाँका अनुसार लामाले यस वर्ष पनि त्यति नै जमिनमा कोदो रोप्न सुरु गर्नुभएको छ ।

यसैगरी अर्का कृषक झिल्लीप्रसाद दुलालले पनि गत वर्ष १० कठ्ठा जमिनमै कोदो रोप्नुभएको थियो । त्यसबाट ५ सय केजी उत्पादन भएकोमा ३ सय केजीे गाउँमै सञ्चालित अपाङ तथा विपन्न कृषि सहकारी संस्थामा बिक्री गरी आयआर्जन गर्नुभएको थियो । उहाँले यसवर्ष पनि १० कठ्ठा जग्गामा कोदो रोप्न थाल्नुभएको बताउनु भएको छ । यस्तै कृषक सुकुम बहादुर घलान पनि आफ्नो जग्गामा कोदो रोपाईं गर्न व्यस्त रहनुभएको छ । उहाँले यस बर्ष १ बिघा १० कठ्ठा जग्गामा कोदो लगाउने विचार गर्नुभएकोमा करिव ८ कठ्ठामा भने कोदो रोपिसक्नु भएको बताउनु भएको छ ।

कृषि प्राविधिक चौधरीले मकवानपुरगढीका अधिकांश कृषकहरुले मकैबाली पछि कोदो खेती गर्दै आइरहेको जानकारी गराउनु भयो । उहाँले कृषकहरुले उत्पादन गरेको कोदो अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले विगत ३ वर्षदेखि गाउँपालिकाले तोकेको मूल्यमा खरिद गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कृषकहरुबाट खरिद गरी संकलन, भण्डारण गरिएको कोदोे मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको सहयोगमा सहकारी संस्थाले कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरि बजारमा समेत् ल्याइसकेको छ । सहकारी संस्थामा हाल करिब ४ हजार मेट्रिक टन कोदो मौज्दात रहेको छ ।