हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा जङ्गली जनावरका कारण किसानहरुले जमिन बाँझो राख्न बाध्य छन् । मकवानपुरगढी–२, ३, ४ र ६ नम्बर वडाका धेरै जसो किसानहरुले जग्गा जमिन बाँझो राख्न बाध्य छन् । गत शनिबार मकवानपुरगढी गाउँपालिका–४ स्थित वाईबाडाँडा टोल विकास र कृषकबीच बाँझो जग्गा, जमिनमा बाली लगाउने विषयमा गरिएको छलफल भएको थियो । छलफलको क्रममा अधिकांश कृषकहरुको जग्गाजमिन बाँझो रहेको पाइएको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।
जग्गाजमिनमा बाली लगाई उत्पादन लिन किसान तयार छन् । तर बाली उत्पादनमा मुख्य बाधक जङ्गली जनावर रहेको किसानको भनाइ छ । जंगली जनावरले दुख दिएकै कारण किसानले खाद्यान्नबालीलाई छाडेर विभिन्न प्रजातिका रुख विरुवाहरु लगाएका छन् । जसमा धेरै सालको बिरुवाहरु रहेका छन् । कृषि प्राविधिक चौधरीले भन्नुभयो, “अहिले त्यही वन ठूलो समस्याको रूपमा रहेको र कानुनी रुपमा बोटबिरुवा तथा रुखहरु काट्न मिल्दैन । जसले गर्दा जङ्गली जनावरहरु मृग, बँदेल, दुम्सी, बाँदरहरु किसानले लगाएको बालीलाई क्षति पु¥याउने क्रम बढेको बताउनुभयो ।
तल्लो कालीखोला सक्रिय कृषक संघका अध्यक्ष मल्ली गोलेले भन्नुभयो, “बाली लगायो उम्रिन्छ, बढ्न नपाउँदै मृगले खाईदिन्छ । हेरचाह गरेर हुर्काइयो दाना लाग्छ बाँदरले खाईदिन्छ । बाली लगाउने बेलामा खर्च गर्यो, लागत समेत उठ्दैन । अनि कसरी खेती लगाउने ? त्यही भएर बाध्यताले खेतीयोग्य जग्गाहरु बाँझो राख्न विवश छौँ ।”
यसैगरी कृषक सपना स्याङ्तानले रुख बिरुवाहरु काटेर हटाउन दिएको खण्डमा आफ्नो निजी जग्गाको रुख बिरुवा हटाएर खाद्यान्न बाली लगाउने बताउनुभयो । जसले गर्दा जङ्गली जनावर कम आउने उहाँको भनाइ छ । कृषि प्राविधिक चौधरीका अनुसार किसानहरुको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइरहेको छ । निर्धक्क साथ बाली लगाई उत्पादन लिन सक्ने वातावरण निर्माणका लागि पालिकासँग पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।
वास्तविक किसानहरु अझै आफ्ना जग्गा, जमिनमा खाद्यान्न बाली लगाउन चाहान्छन् । तर कतिपयले जग्गा, जमिन किनेर यतिकै छाड्ने गर्दा खेतीपाती गर्न समस्या भइरहेको छ । खेती योग्य जमिन केकति बाँझो छ ? किन बाँझो छ ? भन्ने अध्ययन गरेर पालिकाले आवश्यक नीति बनाएर बाँझो राखिने खेतीयोग्य जमिनको बढी कर लिने योजना बनाउन लागेको समेत बताउनुभयो ।