हेटौँडाः १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै मकवानपुर जिल्लाका तेक्वान्दो खेलाडीहरु छनोेट गरी बन्द प्रशिक्षणमा राखिने भएको छ । आगामी भदौ १ र २ गते हेटौँडा–४, कर्रास्थित कभर्ड हलमा मकवानपुुर जिल्लाभरका उत्कृष्ट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिने मकवानपुुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा तेक्वान्दो प्रशिक्षक माधव कोइरालाले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाबाट ३ महिनादेखि ६ महिनाको हाराहारीमा उत्कृष्ट खेलाडीहरु छनोट गरी बन्द प्रशिक्षणमा राख्न लागिएको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मकवानपुर जिल्लाबाट करिब ४ सय जना खेलाडीहरुको सहभागिता रहने र त्यसमध्ये उत्कृष्ट ४० जना खेलाडीहरुलाई छनोट गरी बन्द प्रशिक्षणमा राखिने कोइरालाको भनाइ छ । बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई जिल्ला तेक्वान्दो कार्यसमितिको नेतृत्वमा फिजिकल, स्टामिना, प्याडिङ, रनिङ, रिल्याक्स, फाइटिङ, पुम्से तालिम दिन लागेको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो ।