धेरैपटक गाडीमा यात्रा गर्दा कहिँ सडकमा सुतिरहेको कुकुर जुरुक्क उठेर सर्लक्क बाटो छोडेको भेटेको छु । कहिँ सडक पार गर्ने सुर कस्न लागेका बाख्राका पाठा गाडी आएको चाल पाएर सरक्क आफु भएकै तर्फ फर्केका देखेको छु, कहिँ बीचको लाइनमा टक्क उभिएर गाडीलाई पास दिन पर्खेका जनावर पनि देखेको छु । तर धेरैपटक मान्छे भन्ने प्राणी सडकमा लमतन्न जीउ छोडेर पल्टिरहेको भेटेको छु । कहिँ हल्लिँदै आफ्नै तालसुरमा बाटोमा वल्लो पाखो र पल्लो पाखो गरी हिँडिरहेको देखेको छु । मानौं पूरा धर्ती उसकै हो ! उसलाई गाडीहरुको आवाज र संकेतको कुनै वास्ता हुँदैन । अनि सोँच्छु, मानिसलाई मानिस किन भनुँ म ? मानिसलाई मानिस केले बनाउँछ हँ ? सम्पूर्ण धर्तीलाई आफ्नै झैं गरी ओगट्ने मान्छेलाई ’पशु’ र ती पशु जसले मानवोचित व्यवहार गरे उनीहरुलाई ’मानिस’ किन नभनुँ म ?
एकपटक भारतको कुनै प्रान्तको रेलवे स्टेशनमा विद्युतीय तारमा परेर वेहोस भएको आफ्नो साथी बाँदरलाई अर्को बाँदर साथीले नालीको पानीमा चोबल्दै झक्झक्याएको भिडियो सार्वजनिक भएको थियो । र केहीबेरमा ‘विद्युतीय शक’भएको बाँदर बिउँतेको थियो । जिउँदा हात्तिहरुले मरेको हात्ति लिएर अर्को ठाउँतिर लावालस्करमा हिँडेका पनि देखिएको हो । घरपालुवा जनावरहरुले त मानवोचित गुण र व्यवहार देखाएका घटनाहरु अझ प्रशस्तै देख्न सुन्नमा आएकै हुन् । कुकुरत झन् मानिसको सेवक र सुरक्षाकवच भई नै हाल्यो । आफ्नो मालिक विरामी भई अस्पताल भर्ना हुँदा अस्पतालमै गएको र मालिकको मृत्यु हुँदा धेरै दिनसम्म खाना नखाएको घटनाहरु प्रशस्तै देखिएका छन् ।
प्राकृतिकरुपमा हेर्दा मानिस एउटा जीवकारुपमा नै यस धर्तीमा उदाएको हो । वानर प्रजातिका होमोसापियन्सहरु आधुनिक मानवका पूर्खा मानिन्छन् । मानिस स्तनपायी जनावरमा पर्दछ । जीव जनावरमा जे जस्ता प्राकृतिक गुणहरु छन्, ती प्रकृतिप्रदत्त गुणहरुबाट मानिस अछुतो रहनसक्ने कुरा भएन । त्यसैले होला मानिसले समाजमा पटक–पटक अमानवीय लाग्ने हर्कत्हरु देखाई रहन्छ । कतिपय अवस्थामा त अझ पशुभन्दा पर पुगेर सोच्नै नसकिने अति निर्मम, क्रुर र दानवीय व्यवहार प्रकट गर्न पुग्दछ मानिस ।
पशु जनावरहरु निर्मम हुँदैनन् । त्यसैले होला यदाकदा बाघले आफुले फेला पारेको हरिणको दुधे पाठोलाई सुँघेर र सुम्सुम्याएर छाडेको देख्न पाईन्छ । यौनिकरुपमा पनि अधिकांश जनावरहरुको आफ्ना सिजन हुन्छन् यौनकर्म र प्रजननका लागि । मानिस यस्तो जनावर हो, जसलाई बाह्रैमास यौन चाहना पलाई रहन्छ । त्यसकारण मानिस बलात्कारी बन्न पुग्छ । उसले जसलाई बलात्कार गरिरहेछ, उसको उमेर पनि हेक्का राख्दैन । अझ बलात्कारपछि क्रुर हत्यासमेत् गर्न पुग्छ । यो सबै मान्छे भन्ने पशुले नै गर्दछ । त्यस्तो बलात्कारी मानिसलाई ‘पशु‘ भनेर सम्बोधन गर्दा पनि पशु जनावरको अपमान हुन्छ । पशुहरु मानिसका जस्ता सञ्चार गर्ने क्षमता राख्दा हुन् त आफुहरुलाई पशु भनेकामा प्रतिरोध गर्दा हुन् ! किनभने पशु जनावरले बलात्कार र बलात्कार पछि हत्या पनि गर्दैनन् ! मानिसले नै हो आफुलाई मानिसको कोटीमा राखेको, सर्वश्रेष्ठ प्राणी ठानेको, अझ आफुलाई देवताको रुप पनि मानेको । मानिसलाई मानिस के ले बनाएको हो त ? मानिसलाई मानिस किन भनिएको हो त ? यतातिर घोत्लिनु वाञ्छनीय होला ।
मानिसले पहिलोपल्ट उच्चारण गरेको शब्दथियो (आ, ब्ब) । यो दश लाख बर्ष पहिले इथियोपियामा रहेका आस्ट्रलोपिथेसिन मानवहरुले प्रयोग गरेको मानिएको छ । हामी अहिले पनि नेपालीमा कसैलाई बोलाउन पर्दा शुरुमा ‘ए…’ अथवा ‘ओ…’ उच्चारण गर्दछौं । यस्तै रुसीमा ‘आलो’, स्पेनिसमा ‘ओला’ र अंग्रेजीमा ‘हेलो’ शब्दप्रयोग गरिन्छ ।
अंग्रेजीमा मानिसलाई ‘ह्युमन’ भनिन्छ । ऊ व्यक्ति हो ( दुई खुट्टामा उभिने, बोली भएको, तार्किक र उच्च बौद्धिक क्षमता भएको । शुरुमा मानिसहरुलाई होमो सापियन्स भनिन्थ्यो । तसर्थ यही ‘होम’ शब्दबाट ‘ह्युमन’ भएको भन्न सकिन्छ । तर ल्याटिन शब्द ह्युमनस (humanus) बाट फ्रेन्च शब्द ह्युमेन (humain) हुँदै अंग्रेजीमा human हुन आएको मानिन्छ । यसलाई होमोको ‘हाईब्रीड’ शब्द पनि मानिएको छ ।
यसरी बुझ्न सकिन्छ कि मानिसमा निहित ‘हाई इन्टेलिजेन्स’ र ‘रिजनिङ’ क्षमताका कारण मानिसले अरु सबै प्राणीहरु माथि शासन गरेको हो र आजको दिनसम्म आइपुगेको हो । मानिसको आफ्नो चेतनाको विकास र सामाजिक सांस्कृतिक मान्यता निर्माणको क्रममा मानिस स्वयंले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने मानक स्थापित गरेको हो । यसरी नै समयको क्रममा उसका नैतिक मूल्य, मान्यता र मानवीय गुणहरु निखारिँदै आएका छन् । तर मानिस आर्थिक र भौतिक विकासको दाँजोमा नैतिक र मानवीयता विकासको पक्षमा भने धेरै पछाडि रहेको प्रतित हुन्छ । किनभने मानिसले आफैंले स्थापित गरेको आफ्ना नैतिक मानकलाई पटक–पटक उल्लंघन गरिरहेको छ । उसले, माथि नै उल्लेख गरी सकियो, कुनै पशु र जीव–जनावरले नगर्ने क्रुरता स्वयम् अर्को मानिस माथि नै पनि दोहो¥याई रहेको देखिन्छ ।
फेरि पनिप्रश्न छ मानिसलाई मानिस केले बनाउँछ ? जवाफ त सरल छ उसको नैतिक र सुसंस्कृत व्यवहारले । नैतिक व्यवहार मानिसको आधारभूत कुरा हो । तर नैतिक व्यवहार भनेको के हो ? यस भित्र के–के कुराहरु पर्दछन् ? मानिसका आधारभूत नैतिक मानकहरु हुन् (करुणा, क्षमा, सहयोग र सहानुभूति । स्वयं मानिस र जनावरहरुप्रति करुणा राख्नु, सहयोगी हुनु, विशेषगरी दुःखमा परेका र कमजोर अवस्था भएकाहरुप्रति । मानव समुदायका यी नैतिक मानकहरु संसारका सबै धर्म र सम्प्रदायका मानिसहरुका साझापन हुन् । तर फेरी धर्मका नाममा सबैभन्दा बढी द्वन्द्व हुँदै आएको छ । लडाईं–झगडा र काटमार हुँदै आएको छ यही मानव समाजमा !
मानव समाजलाई जीव–जनावरहरुको जातबाट भिन्न तुल्याउने अरु थप मानवीय विशेषता वा गुणहरुमा मानिसको बुद्धि–विवेक, भाषिक विशिष्टता, सञ्चार, सृजनशीलता र आध्यात्मिकता उत्तिकै महत्वपूर्ण तत्वहरु हुन्, जुन चिजहरु जीव–जनावरको संसारमा कल्पना गरिँदैन ।