केही वर्ष अघिसम्म नेपालमा बाघलाई जोगाउन निकै चुनौतीपूर्ण रहेकोमा पछिल्ला दिनहरुमा बाघबाट जोगिन चुनौतीपूर्ण बन्दै गएको छ । नेपालले बाघको संरक्षणमा उल्लेख्य सफलता प्राप्त गरेसँगै बाघबाट जोगिन चुनौतीपूर्ण बन्दै गएको हो । पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या उल्लेख्य बढ्दै गएको छ । बाघको संख्या बढ्दै जाँदा आहाराको खोजी तथा अन्य कारण प्राकृतिक बासस्थानबाट बाघ बाहिर आउँदा मानिस तथा अन्य जनावर जोखिममा परेका हुन् । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रका जंगलमा सिमित रहेका बाघ मध्यवर्ती क्षेत्र, सामुदायिक वन तथा मानव बस्तीसम्म आउने क्रम बढेकाले मानिसमा त्रास बढेको छ । बाघले मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने भएकाले यसबाट जोगिन समस्या हुन थालेको छ । विगतमा बाघको संख्या बढाउन गरिएका प्रयासलाई अब बाघलाई उसको प्राकृतिक बासस्थानमै अड्याउन प्रयास गर्नुपर्ने आवश्यकता बनेको छ ।
विश्वभर बाघको संख्या निकै कम भएपछि हरेक वर्ष जुलाई २९ का दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिएको छ । सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिएको छ । नेपालसहित विश्वका १३ देशमा मात्र बाघ पाइन्छ । नेपाल, भारत, बंगलादेश, भुटान, चीन, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया र म्यानमारमा बाघ पाइन्छ । हाल विश्वभर बाघको संख्या करिब ४५ सय वटा रहेको अनुमान छ । सन् २०२२ मा भएको बाघ गणनाअनुसार नेपालमा ३ सय ५५ वटा बाघ रहेका छन् । नेपालले सन् २००९ को गणनामा नेपालमा एक सय २१ वटामात्र बाघ रहेको हुँदा विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्म २ सय ५० वटा बाघको संख्या पुर्याउने नेपालको लक्ष्य थियो । निर्धारित समयमा लक्ष्यभन्दा धेरै बढी बाघको संख्या पुर्याएर बाघ संरक्षणमा नेपालले ठूलो सफलता हासिल गरेको छ । बाघलाई विश्वकै एक महत्वपूर्ण प्राणी मानिन्छ । बाघको महत्वलाई जैविक, प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सबै दृष्टिकोणबाट उजागर गर्न सकिन्छ । जैविक प्रणालीको सन्तुलनमा बाघको भूमिका महत्वपूर्ण छ । खाद्य शृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारण शाकाहारी जनावरलाई नियन्त्रणमा राखी जैविक विविधता सन्तुलनमा यसको उल्लेखनीय योगदान रहन्छ । करिब एक सयवर्ष अघि विश्वमा एक लाखभन्दा बढी बाघ रहेको विश्वास गरिन्छ । एक सय वर्षपछि विश्वभर बाघको संख्या दुई हजारको हाराहारीमा आएपछि विश्वव्यापीरुपमा बाघ संरक्षणको चिन्ता र चासो बढेको हो । विश्वमै लोपोन्मुख र दुर्लभ भएपछि यसको संरक्षणको प्रयास व्यापक बनाइएकै कारण नेपालमा बाघको संख्या बढेको हो ।
जथाभावी जंगल फँडानी, आहाराको कमी, जलवायु परिवर्तन, गैरकानुनी शिकारलगायत कारण बाघको संख्या घटेको थियो । बाघ संरक्षणको प्रभावकारी उपाय अवलम्बन भएपछि अहिले बाघको संख्या बढ्दै गएको छ । नेपालको चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघको मुख्य बासस्थान हो । यी ५ वटा निकुञ्जमध्ये चितवन र बर्दियामा मात्र दुई तिहाइभन्दा बढी बाघको बसोबास छ । बाघ संरक्षणमा पाइएको सफलताले जैविक प्रणालीमा सहयोग पुग्ने भए पनि यसको उचित व्यवस्थापन हुन नसक्दा मानिस तथा घरपालुवा जनावरको लागि चुनौती बन्ने निश्चित छ । बाघको संख्या बढ्दै जाँदा मानिस र बाघबीच द्वन्द्वको अवस्था सिर्जना हुनसक्छ । यसले दुबैलाई हित गर्दैन । बाघ दिवस मनाइरहँदा बाघको संरक्षणसँगै यसको उचित व्यवस्थापनमा ध्यान दिन सकेमा बाघ र मानिस दुबै ढुक्कसँग जीवनयापन गर्नसक्ने थिए ।