हेटौंडाः बागमती प्रदेशमा प्रदेश विश्वविद्यालय निर्माण गर्न प्रदेश सरकारलाई समितिले प्रस्ताव गरेको छ । आइतबार बसेको समितिको बैठकले प्रदेश सरकारलाई प्रस्ताव गरेको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जानाकारी दिनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजनमा प्रदेश उच्च शिक्षा परिषद् समिति गठन भएको थियो । प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेश योजना आयोगको उपाध्यक्षको संयोजकमा ५ सदस्यीय विषयगत समिति गठन भएको छ । समितिमा विषय विज्ञहरु रहेका छन् । यसअघि प्रदेश सरकारले प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय स्थापना गरिसकेको छ । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन प्रमाणीकरण २०७८ चैत १४ मा गरिसकेको छ ।

प्रदेशमा प्राविधिक क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिन विश्वविद्यालय स्थापना गर्न लागिएको मन्त्री मोक्तानको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि युवा, गृहिणी महिला, सिमान्तकृत, दलितको लागि नयाँ योजना ल्याएको छ । सरकारले युवालाई स्किलिङ ट्रेनिङको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, गृहिणी महिला कार्यक्रमअन्तर्गत् ५ करोड, सिमान्तकृत जातिलाई सशक्तिकरण गर्न, गरिबी निवारणअन्तर्गत् चिउरी, चमेरो र चेपाङ संरक्षण योजना रहेको मन्त्री मोक्तानले बताउनुभयो । यस्तै, प्रदेश सरकारले यसवर्ष विपन्न दलित कार्यक्रमका ५० लाख बजेट विनियोजन गरेको छ ।