हेटौंडा बजार क्षेत्रको पूर्वपश्चिम राजमार्ग सीमाभित्रका अतिक्रमित संरचना हटाउने चर्चा व्यापक बनिरहेको समयमा शनिबार विहान मनहरीमा भयानक सडक दुर्घटना भएको छ । मनहरी–६, डिपाटस्ति पूर्वपश्चिम राजमार्गमै दुईवटा ट्रक ठोक्किएर जल्दा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । विपरित दिशाबाट आएका ट्रक राति पौने दुई बजे आपसमा ठोक्किँदा दुबै ट्रक जलेर पूर्ण नष्ट भएको थियो । बढ्दो सडक दुर्घटनाका कारण मुलुकका सडक सुरक्षित बन्न सकेको छैन । सडक दुर्घटनाले महामारीको रुप लिइरहेको छ । दैनिक दर्जनौं मानिस सडक दुर्घटनाका कारण मरिरहेका छन् भने सयौं घाइते भइरहेका छन् । बढ्दो सवारी चापअनुसार सडक फराकिलो र स्तरीकरण नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ । धेरैवटा राष्ट्रिय राजमार्गसँग जोडिएको र संघीय तथा प्रदेश राजधानी जोड्ने छोटो दुरीका प्रशस्तै बैकल्पिक सडकहरुका कारण मकवानपुरमा पनि धेरै सवारी दुर्घटना हुने गरेका छन् । भएका सडक फराकिलो र स्तरीय बनाउन नसक्दा दिनहुँ दुर्घटनाको खबर सुन्नु परिरहेको छ ।

नेपालमा सडक यातायात नै सर्वत्र पहुँच भएको यातायात साधन हो । हवाई यातायात महंगो भएको र सबैतिर पहुँच नभएका कारण आम नेपालीसँग सडक यातायातको विकल्प छैन । निर्विकल्पजस्तै बनेको सडक यातायात भरपर्दो र सुरक्षित भने हुन सकेको छैन । सडक सवारी दुर्घटनाका धेरै कारण छन् । चालकको लापरबाही, साँघुरो र कमसल सडक, सवारी साधनको चाप तथा जनचेतनाको कमीले सडक दुर्घटना बढी हुने गरेका छन् । सवारी दुर्घटनामा प्रत्यक्ष÷अप्रत्यक्ष सवारी चालकको भूमिका रहन्छ । सवारी चालकहरु सम्भावित दुर्घटनाप्रति सचेत र गम्भीर नबन्दा दुर्घटना बढी हुने गर्दछन् । सवारी चालकहरुले पर्याप्त सावधानी नअपनाउँदा आफ्नै वा अन्य सवारी साधनमा सवार मानिस, पैदलयात्रुका साथसाथै आफ्नै ज्यानसमेत जोखिममा पार्ने गरेका छन् । तर, सडक दुर्घटनामा राज्य संयन्त्र र आम सर्वसाधारणको जिम्मेवारीलाई नजरअन्दाज गर्न सकिँदैन । भौगोलिक अवस्था, सडकको बनावट र मौसमी प्रतिकूलतालाई पनि सडक दुर्घटनाका थप कारण मान्न सकिन्छ ।

सडक यातायातलाई व्यवस्थित, भरपर्दो र सुरक्षित राख्नका लागि विभिन्न नियम, कानुन बनाइएका छन् । सवारी चालक, पैदलयात्री तथा आम नागरिकले पालना गर्नुपर्ने ती नियम कानुनको पालना गराउन ट्राफिक प्रहरीको व्यवस्था गरिएको छ । ट्राफिक नियमको प्रभावकारी पालना भएमा सवारी चालकसहित सबैलाई सुविधा पुग्छ । यसले सवारी दुर्घटना कम गर्न मद्दत गर्दछ । यसकारण ट्राफिक नियम पालनालाई संसारभर नै कडाई गरिएको पाइन्छ । तर, हामीकहाँ ट्राफिक नियम पालनाभन्दा पनि उल्लंघन गर्ने प्रतिस्पर्धा हुने गर्दछ । सवारीचालकमात्र होइन, पैदलयात्री, सवारी साधनमा यात्रा गर्ने व्यक्ति, सडक किनारमा बसोबास गर्ने मानिस, सडक किनारमा व्यवसाय गर्ने व्यवसायी सबै ट्राफिक नियम मिच्दा बहादुरी सम्झन्छन् । सवारी व्यवस्थापनको जिम्मेवारी पाएका निकाय पनि सिमित व्यक्तिगत फाइदाका सवारी नियमनमा बेवास्ता गरिदिन्छन् । यस्तो अवस्था रहुञ्जेल सडकलाई सुरक्षित बनाउन सकिँदैन ।

सडकमा ट्राफिक प्रहरी उभिएको देखेमा नियम पालना गरेजस्तो गर्ने, नत्र मनपरी सवारी चलाउने परम्परा अन्त्य हुनुपर्छ । चालकले नियम पालना गर्नु भनेको आफ्नो र यात्रुको सुरक्षाको लागि हो भनेर सम्झनुपर्छ । सवारी दुर्घटना न्यूनीकरणका लागि थुप्रै कुरामा ध्यान दिनु आवश्यक छ । शहर बजारका सडकमा बनाइएका जेब्राक्रसको प्रयोग गरिनुपर्छ । फुटपाथ भएको ठाउँमा सडकबाट हिँड्नु हुँदैन । सडकमा तोकिएको सवारी लेनको पालना गर्नुपर्छ । जथाभावी सवारी रोक्ने, पार्किङ गर्ने, यात्रु ओराल्ने र चढाउने गर्नुहुँदैन । सडकमा अवरोध पुग्ने कार्य गरिनु हुँदैन । सडक सीमाभित्र घरटहरा निर्माण गर्नु हुँदैन । जथाभावी सडक खन्ने र राजमार्गसँग जोड्ने कार्य बन्द गर्नुपर्छ । भएका सडक फराकिलो र स्तरीकरण गरिनुपर्छ । प्राविधिकरुपले अप्ठ्यारा सडक तथा मोडहरु सुधार गर्नुपर्छ । यस्तो भएमा सडक दुर्घटना कम भई यसबाट हुने जनधनको क्षति पनि कम हुनसक्छ ।