हेटौंडा बजार क्षेत्र भएर दुईवटा प्रमुख राजमार्ग गएको छ । देशकै सबैभन्दा पुरानो राजमार्गको रुपमा परिचित त्रिभुवन राजपथ र अत्याधिक सवारी साधन गुड्ने देशकै सबैभन्दा महत्वपूर्ण महेन्द्र (पूर्व–पश्चिम) राजमार्ग हेटौंडा बजार भएर गएको छ । हेटौंडा बजारको रातोमाटेदेखि बुद्धचोकसम्म यी दुबै राजमार्ग एउटै छ भने बुद्धचोकबाट पश्चिमतर्फ महेन्द्र राजमार्ग गएको छ र बुद्धचोकबाट उत्तरतर्फ त्रिभुवन राजपथ गएको छ । दशकौंदेखि यी दुबै राजमार्ग विस्तारको चर्चा र बहस भइरहेको भए पनि अहिलेसम्म विस्तार हुन सकेको छैन । सडक डिभिजन हेटौंडाले प्रत्येक वर्षजसो सडक अतिक्रमण गरेर निर्माण भएका घरटहरा हटाउन सूचना जारी गर्ने गरेको भए पनि अतिक्रमण हटाएर सडक विस्तार हुन सकेको छैन । सडक ऐनले निर्धारण गरेको सडक सीमाभित्र हेटौंडा बजार क्षेत्रका हजारौं घर रहेका कारण पनि सडक विस्तार चुनौतीपूर्ण बनिरहेको छ । जबजब सडक अतिक्रमण हटाउने सूचना प्रकाशित हुन्छ र राजमार्ग विस्तारको चर्चा चल्छ, हेटौंडा बजार क्षेत्रका घरधनी तथा व्यवसायी शक्तिकेन्द्र धाउँछन् । राजनीतिक दल तथा शक्तिकेन्द्रको आडमा सडक अतिक्रमण हटाउने सूचना कार्यान्वयन हुँदैन ।

गत असार १० गते पनि डिभिजन सडक हेटौंडाले हेटौंडा बजार क्षेत्रमा पर्ने महेन्द्र राजमार्गको दायाँबायाँ २५ मिटर क्षेत्रका घरटहरा हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । अहिले महेन्द्र राजमार्गको विभिन्न खण्डको सडक विस्तार भइरहेको र पथलैया–नारायणगढ खण्डको विस्तारको लागि पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको महेन्द्र राजमार्गको पथलैया–नारायणगढ खण्डभित्र हेटौंडा बजारबाहेक अन्यत्रका सडक अतिक्रमित संरचना हटाउन समस्या छैन । बारा जिल्लाको ३ नम्बर पुलमा रहेका केही होटल र हेटौंडा बजार क्षेत्रको सडक अतिक्रमण हटाउन बाँकी छ । यसपटक सडक डिभिजनले जारी गरेको सूचनामा हेटौंडा बजारको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्मको महेन्द्र राजमार्गको सडक सीमाभित्र रहेका सडक ऐनविपरित निर्माण भएका संरचना हटाउन भनिएको छ । राजमार्ग विस्तारका लागि डीपीआर बनिरहेको र ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको अवस्थामा हेटौंडा बजार क्षेत्रको सडक अतिक्रमण हटाउने पछिल्लो सूचनाले सडक सीमाभित्रका घरधनी तथा व्यवसायीमा त्रास सिर्जना भएको छ ।

विगतमा विभिन्न राजनीतिक दल तथा नेतृत्वले सडक अतिक्रमण हटाउन घरधनी तथा व्यवसायीलाई साथ दिइरहेकोमा पछिल्लो समय सबैजसो राजनीतिक दलहरु सडक विस्तारमा सकारात्मक देखिएका छन् । सडक डिभिजनको पछिल्लो सूचनाबारे अहिलेसम्म राजनीतिक दलहरुले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । बरु हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले सडक अतिक्रमण हटाएर हेटौंडा बजार क्षेत्रको राजमार्ग विस्तार कार्यलाई सघाउने निर्णय गरेका छन् । शनिबार बसेको नगरसभा बैठकमा उपस्थित नगरसभा सदस्यहरुले सर्वसम्मत सडक विस्तारमा सहयोग गर्ने निर्णय गरेका हुन् । उपमहानगर नेतृत्वले यसअघि पनि राजमार्ग विस्तारको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिइरहेको अवस्थामा नगरसभाबाटै भएको राजमार्ग विस्तारमा सघाउने निर्णयलाई अर्थपूर्णरुपमा लिन सकिन्छ ।

देशका अधिकांश क्षेत्रमा रहेको सडक अतिक्रमण हटाएर सडक विस्तार भइरहँदा हेटौंडा बजार क्षेत्रको सडक कहिले फराकिलो हुने भन्ने प्रतीक्षाकै विषय बनिरहेको छ । हेटौंडा बजार क्षेत्रको राजमार्गको सडक सीमा २५–२५ मिटरभित्रको घरटहरा भत्काउँदा केही घरधनीहरु विस्थापित नै हुने अवस्था छ । सडक सीमाभित्रका घर तथा त्यसमा सञ्चालित व्यवसायीले सडक विस्तारको बिरोध गर्नु स्वभाविक हो । सडक सीमाभित्र पुस्तौं बिताएका र हातमा लालपूर्जा बोकेर बसेकाहरु सडक विस्तारको विपक्षमा छन् भने अन्य नगरबासी सडक विस्तारको पक्षमा देखिएका छन् । राजमार्ग विस्तारको पक्ष–विपक्षमा लाग्नुभन्दा पनि बास्तविक पीडितलाई उचित क्षतिपूर्ति दिएर सडक विस्तार हुनुपर्छ भन्ने बहस गर्नु उचित हुनेछ ।