हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले बालश्रम निवारणका लागि स्थानीय तहसँग अन्तरक्रिया गरेको छ । सोमबार बालकल्याण समाज र हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा ग्लोबल मार्चको सहयोगमा बालश्रम निवारणका लागि स्थानीय तहको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद अधिकारी र बालकल्याण समाज एवम् राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम निवारणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । हेटौंडा उपमहानगरपालिकालाई बालश्रममुक्तसहित बालमैत्री घोषणा गर्नका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित भएको खतिवडाले बताउनुभयो ।
कार्यक्रममा उपसचिव अधिकारीले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७, प्रस्तुत गर्दै त्यसमा रहेको ७ सूचक र २० उपसूचकको बारेमा जानकारी गराउनुभयो । यस्तै, अधिकारीले नेपालको संविधान, दिगो विकास लक्ष्य, बालश्रम योजनाको बारेमा जानकारी गराउनुभयो । बालश्रमको अन्य गरी सबैको समन्वय र सक्दो सहयोग हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय तह घोषणाको लागि भएको क्रियाकलापबारे उपमहानगरपालिकाका महिला बालबालिका महाशाखा निर्देशक विष्णुकुमारी लामिछानेले प्रस्तुतिकरण गर्नुभएको थियो । लामिछानेले नगरपालिकाले बालश्रम न्यूनीकरणका लागि गरेको क्रियाकलापको बरेमा बताउनुभयो । नगरपालिकाबाट भइरहेको बालविवाह अन्त्यको प्रयास, अनुगमन र स्थितिपत्रको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा उपमेयर बानियाँले बालमैत्री घोषणाका लागि स्थानीय सस्था र स्थानीय तहले गरेको सहयोग राम्रो भएको बताउनुभयो । उपमहानगरले थालनी गरेको बालमैत्री स्थानीय शासन घोषणाका लागि बालश्रममुक्तसहित बालमैत्री घोषणाका लागि पालिकाले सञ्चालन गरेको अभियानमा सहकार्य र सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बालमैत्री स्थानीय शासन नगर समितिका सम्पूर्ण पदाधिकारीको सहभागिता रहेको थियो ।