हेटौँडाः गुरु अर्थात् ज्ञान दिने व्यक्तिप्रति सम्मान भाव बढ्दो छ । सोमबार गुरु पूर्णिमामा आफ्ना गुरुलाई सम्मान गर्नेले सामाजिक सञ्जाल भरिएको थियो । गुरु पूर्णिमामा गुरुलाई चेलाले दिएका उपहार तुलना गर्नु स्वभाविक हुन्न । तर, हेटौँडा–४ स्थित नवोदय शिशु सदनले भने आफ्ना शिक्षकलाई एक हजार रुपैयाँ बराबरका पुस्तक उपहार दिएको छ ।
विद्यालयमा कार्यरत एक सयभन्दा बढी शिक्षकलाई आफ्नो रुचिको पुस्तक खरिद गर्न मिल्ने गरी कुपन उपलब्ध गराइएको थियो । हेटौँडा–४, भैरवरोडस्थित किताबघरमा गएर शिक्षकको समूहले छानी छानी पुस्तक लिएका छन् । शिक्षकले नेपाली तथा अंग्रेजी साहित्यका साथै शिक्षण सिकाइ क्रियाकलापसँग सम्बन्धित किताब लिएका छन् । शिक्षकलाई गुरु पूर्णिमाको अवसरमा विद्यालयको तर्फबाट केही उपहार दिनुपर्ने योजनामा रहेको र शिक्षकका लागि पुस्तक नै उपयुक्त हुने भएकोले पुस्तक उपहार दिने निर्णय गरिएको नवोदय शिशु सदनका शैक्षिक निर्देशक दिपेश जोशीले जानकारी दिनुभयो ।
गुरु पूर्णिमाको अवसरमा पुस्तक उपहार पाउनुभएका नवोदय शिशु सदनका शिक्षक गोपाल घिमिरेले नवोदय शिशु सदन पठन संस्कृतिको बहससँगसगै व्यावहारिक प्रयोग हुने विद्यालय भएको उल्लेख गर्नुभएको छ । यस्तै साहित्यकार, शिक्षक संप्रस पौडेल नवोदयले प्रत्येक शिक्षकलाई किताब उपहार दिएको अभ्यास सकारात्मक रहेको उल्लेख गर्नुहुँदै यसको सिको अरूले पनि गर्दा राम्रो हुने उल्लेख गर्नुहुन्छ ।
नवोदयले पूर्वप्राथमिक तहदेखि नै आफ्ना बालबालिकालाई पठन संस्कृतिमा अभ्यस्त गराउँदै आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पनि अध्ययन गर्ने गरेका छन् । बालबालिकालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यालयले विविध अतिरिक्त क्रियाकलापका माध्यमबाट सिकाइमा जोड दिँदै आएको छ ।