देशभर मनसुर सक्रिय भएर वर्षा सुरु भइसकेको छ । गृष्मकालीन मनसुनका कारण पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । वर्षा सुरु भएसँगै बाढी र पहिरोका घटनाहरु हुने गर्दछन् । अझ धेरै पानी पर्दा डुबान र कटानका घटना पनि हुन्छन् । यस्ता घटनाले देशमा वर्षेनि धेरै धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि देशका विभिन्न भागमा भारी वर्षाका कारण बाढी र पहिरोले भौतिक सम्पत्ति तथा मानवीय क्षति पुर्याएका समाचार आइरहेका छन् । केही दिनदेखिको वर्षाले देशका विभिन्न भागका राजमार्गमा पहिरो झरेर सडक अवरुद्ध भइरहेका छन् । यसले जनजीवन निकै प्रभावित बनिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि देशभर वर्षा हुने क्रम चलिरहेकोले सतर्कता अपनाउन आग्रह गरिरहेको छ । मनसुनी वर्षाका कारण उत्पन्न हुने प्रकोपले सिर्जना गर्ने विपद्का घटना रोकथाम र क्षति न्यूनीकरणका लागि तीनै तहको सरकारले पर्याप्त पूर्वतयारी गर्न सकेको छैन ।

मकवानपुर जिल्ला पनि विपद् जोखिमको हिसाबले निकै सम्वेदनशील मानिन्छ । चुरे तथा महाभारत पर्वत श्रेणी भएर बग्ने विभिन्न खोला तथा कमजोर भूवनोटका कारण मकवानपुरमा बाढी तथा पहिरोको जोखिम रहेको छ । डढेलो, आगलागी र चट्याङबाट पनि मकवानपुर जिल्ला बढी प्रभावित हुने गरेको छ । जिल्लामा विभिन्न प्रकारका प्रकोपजन्य घटनाको जोखिम उच्च रहेको भएपनि यहाँका स्थानीय तहहरुले प्रकोप जोखिम न्यूनीकरण र विपद् पूर्वतयारीका लागि पर्याप्त ध्यान दिएको पाइँदैन । सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै केही दिनअघि जिल्लाको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सशस्त्र प्रहरी बल १४ नम्बर गणको सहकार्यमा गत बुधबार मनहरी र राक्सिराङ तथा बिहीबार कैलाश गाउँपालिकाको समुदायका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरिएको हो । अभ्यासका क्रममा आगलागी, चट्याङ, भूकम्पजस्ता प्रकोपको अवस्था आएमा अपनाउनु पर्ने सावधानी तथा त्यस्ता विपद्को अवस्थामा कस्ता–कस्ता कार्य गर्दा जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने प्रयोगात्मक अभ्याससहित जानकारी गराइएको थियो ।

पहाडी क्षेत्रको कमजोर भू–धरातलका कारण नेपाल पहिरोको उच्च जोखिममा छ र पहिरोकै कारण व्यापक जनधनको क्षति भइरहेको छ । अधिकांश खोला, नदीमा वर्षाको समयमा आउने बाढीका कारण हुने कटानले मानिसको ज्यान जानेमात्र नभई भौतिक सम्पत्ति र कृषियोग्य जमिनको नाश हुने गरेको छ । तराई क्षेत्रमा खोला, नदीको पानी गाउँ, बस्ती र खेतीयोग्य जमिनमा पस्ने तथा आकाशबाट परेको पानी जमेर डुबानका कारण क्षति हुनेगर्दछ । अर्कोतिर भू कम्पको उच्च जो खिममा रहेको कारण मुलुकमा समयसमयमा विनाशकारी भूकम्पले पनि ठूलो विपत्ति निम्त्याउने गरेको छ । यस्तै, गर्मी मौसममा हावाहुरी, डढेलो, आगलागीजस्ता घटनाले पनि जनधनको क्षति गर्दै आएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने हिमपातले पनि कतिपय अवस्थामा प्रकोपको रुपधारण गरेको पाइन्छ भने चट्याङका कारण पनि जनधनको क्षति भइरहेको छ ।

प्राकृतिक विपद् न्यूनीकरणका लागि संघ, प्रदेश तथा स्थानीय सरकारका विषयगत निकायहरुले प्रभावकारी काम गर्न सकेका छ्रैनन् । मुलुकमा धेरै प्रकारका प्राकृतिक र मानवसिर्जित प्रकोपको जोखिम रहेकाले यसबाट निम्तने विपद्को पूर्वतयारी हुनुपर्छ । वर्षाको समयमा प्राकृतिक प्रकोपबाट व्यापक क्षति भएका विगतका घटनाहरुबाट पाठ नसिक्दा र विपद्जन्य घटनालाई गम्भीररुपमा नलिँदा वर्षेनि यस्ता घटनाबाट हुने क्षति बढ्दो छ । संघ, प्रदेश तथा स्थानीय सरकारले प्रकोपको सम्भावित स्थानहरुमा पूर्वतयारी तथा सतर्कता अपनाउँदै सुरक्षाको व्यवस्था मिलाउनु जरुरी छ । समस्या आइसकेपछि अत्तिनुभन्दा पहिले नै प्राकृतिक प्रकोपको रोकथाम, नियन्त्रण र विपद् पूर्वतयारीमा सबै तहको सरकारले पर्याप्त ध्यान दिनु उचित हुनेछ ।