निमेष निखिल संयोजक, सर्जक सञ्जाल मकवानपुर

मकवानपुर जिल्लामा पुस्तक प्रकाशनको अभ्यास बढ्दो क्रममा छ । विशेषतः साहित्यिक कृति प्रकाशनको अभ्यास बढी देखिन्छ । अध्ययन, अनुसन्धान र लेखनले समकालिन समाजलाई मार्गनिर्देश गर्दछ । पुस्तक प्रकाशनलाई प्रोत्साहित गर्ने वातावरण अझै बनिसकेको छैन । गत साता मात्रै एउटा साहित्यिक कृति विमोचन गरिएको छ । कृति प्रकाशनको सन्दर्भमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः साहित्य कृतिहरुको प्रकाशन कसरी हुन्छ ?
निखिलः
साहित्यिक कृृृृृृृृृृृृृृृतिहरु प्रकाशन हुने पद्दति दुइवटा रहेको छ । लेखक आफैँले लगानी गरेर प्रकाशन गर्ने र आफुले चिनेजानेका आफन्तलाई बाँड्ने र आफैँले बेच्ने एउटा पद्दति हो भने किताबहरु छाप्ने छापाखानालाई प्रकाशन गर्न दिने र बिक्री गर्न लगाई केही प्रतिशत् लेखकलाई दिने प्रक्रिया साहित्यिक कृतिहरु प्रकाशनको अर्काे पद्दति हो ।

समाजः तपाईले आफ्नो साहित्यिक कृतिहरु कसरी प्रकाशन गर्नुभएको छ ?
निखिलः
मेरो तीन वटा किताबहरु प्रकाशन भइसकेको छ । म आफैँले लगानी गरेर पहिलो पटक २०६५ सालमा “मनहरुको परिसर” भन्ने कविता सङ्ग्रहको प्रकाशन गरेको थिएँ । मैले २०७१ सालमा दुई वटा किताब प्रकाशन गरेको थिएँ । त्यो किताब काठमाडौंका प्रकाशकहरुले छापेका थिए । उनीहरुले नै बिक्री वितरण गरिदिएको थियो ।

समाजः मकवानपुरमा कृति विमोचन कहाँ हुन्छ र कृतिहरुलाई पाठक समक्ष कसरी पुर्याइन्छ ?
निखिलः
छापेको वा प्रकाशित किताबलाई पहिलो पटक पाठकहरु समक्ष सार्वजनिक गर्ने कार्यक्रमलाई कृति विमोचन भन्ने गरिन्छ । कतिपय लेखकहरुले आफ्नै ठाउँमा प्रकाशन गरी विमोचन गर्छ भने राष्ट्रियस्तरका प्रकाशकहरुले छापेको अवस्थामा काठमाडौंतिर पनि कृतिहरु विमोचन गर्ने गर्दछ । कुनै लेखकले आफ्नो कृतिहरुको गृह विमोचन गर्ने चलन पनि रहेको छ ।

समाजः हेटौँडाका लेखकहरु कस्तो हुनुहुन्छ ?
निखिलः
हेटौँडामा धेरै विधामा लेख्ने लेखकहरु छन् । खासगरी कविता, काव्यका क्षेत्रमा हेटौँडा अगाडि नै छ । फुटकर कवितादेखि मुक्तक, गजल, खण्डकाव्य जस्ता विधामा हेटौँडाका लेखकहरु पहिलेदेखि नै अगाडि देखिन्छ । त्यसबाहेक निबन्ध, उपन्यास, कथा, आख्यान जस्ता विधाहरुमा पनि हेटौँडाका लेखकहरुले कलम चलाउने गरेको पाइन्छ । समग्रमा हेर्दा नाटक र उपन्यास विधामा बाहेक सबै विधामा हेटौंडाका लेखकहरु अगाडि नै छ । नाटक र उपन्यास विधामा लेख्ने लेखकहरु चाहीँ कम देखेको छु ।

समाजः पाठकहरुले केको आधारमा किताब छानेर पढेको देखिन्छ ?
निखिलः
खासगरी पाठकले बजारमा चलेको र विभिन्न पत्रपत्रिकामा देखेको आधारमा किताबहरु किन्ने गरेको पाउँछु भने कतिपयले आफुलाई मनपर्ने, नाम चालेका लेखकको किताबलाई खोज्ने गरेको पाइन्छ ।

समाजः तपाई सर्जक सञ्जाल मकवानपुरको संयोजक हुनुभएको कति समय भयो ?
निखिलः
मैले २०७२–७३ देखि सर्जक सञ्जालको संयोजकको काम गर्दै आएको हुँ । सर्जक सञ्जाल मकवानपुरको स्थापनाकालमै हामीले थुप्रै साहित्यिक संघसंस्थाहरुको छाता संगठनको रुपमा परिकल्पना गरेका थियौँ । हामीले यस संस्थालाई मकवानपुर जिल्लाको विभिन्न साहित्यिक संगठनहरुको एक साझा संगठनको रुपमा बनाउने तयारी गर्दैछौँ ।

समाजः तपाई यस संस्थाको संयोजक भएर के कस्तो कार्यक्रमहरु गर्नुभयो ?
निखिलः
अहिलेसम्म हामीले राष्ट्रिय महत्वको विषयमा धेरै कामहरु गरिसकेका छौं । लगभग एक महिना अगाडि हेटौँडाका विभिन्न ठाउँमा भ्रष्टाचार बिरुद्ध सप्ताहव्यापी रचनावाचन कार्यक्रम गर्यो ।