हेटौँडाः हेटौँडामा जारी विजय यूथ गोल्ड कपअन्तर्गत शुक्रबारको खेलमा हेटौँडा फुटबल एकेडेमी र चाइना पब्लिक यूथ क्लब विजयी भएको छ । चाइना पब्लिक यूथ क्लबले चौकीटोल युथ क्लबलाई सडेन डेथमा ५–४ ले पराजित गर्दै विजयी हुन सफल भएको छ ।

हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङगशालामा हेटौँडा फुटबल एकेडेमीले विजय यूथ क्लबलाई ४–१ ले पराजित गरेको हो । एकेडेमीका लागि पहिलो हाफमा दावा लामाले र सन्जीब अर्यालले १/१ गोल गरेका थिए भने दोस्रो हाफमा दावा लामा र मनिष पौडेलले १/१ गोल गरे । विजय युथका तर्फबाट १ गोल जीवन जिम्बाले गरेका थिए ।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विजय यूथ क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।