ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै ।


हेटौँडाः हेटौँडा–१० स्थित आदर्श टोल विकास संस्थाले वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई आज बिहान सम्मान गरेको छ । ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्व विश्व चेतना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको साझेदारीमा नगदसहित खादा ओढाएर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदीप कँडेलको सभाध्यक्ष तथा वडाध्यक्ष फूर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । वडाध्यक्ष लामाले ज्येष्ठ नागरिकका समस्या सहजरुपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । वडाले ज्येष्ठ नागरिकलाई नियमितरुपमा सम्मान गर्दै आएको बताउनुभयो । समाज र राज्यको परिवर्तनमा ज्येष्ठ नागरिकको भूमिका रहेको उल्लेख गर्नुहुँदै ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्यको दायित्व भएको पनि उहाँको भनाइ थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख चुडाकुमारी खड्काले कानुननी प्रावधानबारे सहजीकरण गर्नुभयो । मोबाइल जस्ता प्रविधिको विकासले सबैलाई एक्लो बनाइरहेको बताउनुहुँदै ज्येष्ठ नागरिकलाई घुलमिल हुन खड्काले आग्रह गर्नु भएको छ । वृद्धवृद्धामा बच्चापन भएकाले कानुन विपरित कार्यहरु पनि नित्याइरहेको अवस्था उल्लेख गर्नुहुँदै उहाँले कसैलाई पनि आँच पुग्ने गरी कानुन विपरित कार्य नगर्न आग्रह गर्नुभयो ।

मानसिक रोगको शिकारले आत्महत्या जस्ता घटना समाजमा बढिरहेको जानकारी दिनुहुँदै खड्काले कुनै समस्या तथा गुनासाका लागि तत्काल प्रहरी कार्यालयमा सम्पर्क गरे समस्याको सुनुवाई हुने समेत प्रतिबद्धता जनाउनुभयो । आदर्श टोल विकास संस्थाकी अध्यक्ष शान्त गजुरेलले हेटौँडाको चाइनाक्वार्टरमा भएको घटना नदोहोरियोस् भनेर ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो । ज्येष्ठ नागरिक सम्मानको कार्यलाई निरन्तरता दिने गजुरेलले प्रतिबद्धता जनाउनुभएको छ ।