हेटौँडा उपमहानगरपालिकाले आगामी मंसिर महिनाभित्र बालमैत्री पालिका घोषणाको तयारी गर्दैछ । बालमैत्री पालिका घोषणाको तयारीका क्रममा उपमहानगरले विविध क्रियाकलाप गर्दै आएको छ । केहीदिनयता श्रममा रहेका बालबालिकाको उद्दार गर्ने, अवैधरुपमा बालबालिकालाई श्रममा लगाउने रोजगारदातालाई कारवाही गर्ने काममा उपमहानगर सक्रिय भइरहेको छ । बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौँडा उपमहानगरपालिकाको बालमैत्री नगर सहजकर्ता सपना ढुंगानासँग समाज संवाददाता सुमिना चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी कुन चरणमा पुग्यो ?
ढुंगानाः कुनै पनि निकायलाई वा स्थानीय पालिकालाई बालमैत्री घोषणा गर्नका लागि कार्यविघि अनुसार मुख्यतः पाँचवटा चरणहरु हुने गर्दछन् । हामीहरु पूर्व तयारी र तयारीको चरणमा छौं । अहिलेलाई भन्नु पर्दा हामी पहिलो चरणका छौं ।
समाजः सुरुको तयारीे अवस्थामा भन्दा अहिलेको अवस्थामा के फरक छ ?
ढुंगानाः बालमैत्री स्थानीय शासन भनेको के हो भन्ने कुरा यसको अवधारणा जनतासामु नपुगेको अवस्था थियो । अहिले बालमैत्री स्थानीय शासन अबलम्वन हुँदैछ । यस विषयमा हामीहरु पनि जानकार हुनपर्छ भन्ने आवाजहरु धेरै सहयोगी निकायहरुबाट आएको छ । बालबालिकाहरुसँग सम्बन्धित कुरा जस्तै बालविवाह, बालश्रम, बालहिंसा जस्ता विषयमा धेरैलाई जानकारी भएको छ ।
समाजः बालमैत्री पालिका घोषणका लागि कुन क्षेत्र बढी चुनौतिपूर्ण छ ?
ढुंगानाः हेटौँडा उपमहानगरपालिकाका सबै क्षेत्रहरुको भौगोलिक अवस्था समान छैन । कुनै क्षेत्र सुगम र कुनै क्षेत्र दुर्गम छ । तर समस्या दुर्गम मात्र नभएर मुख्य समस्या केन्द्रमा रहेको छ । समस्या जताततै छन् ।
समाजः बालमैत्री पालिका घोषणाका लागि कुन कुन निकायहरुले सहयोग गरेको छ ?
ढुंगानाः बालमैत्री पालिका घोषणका लागि सरोकारवाला सवै निकायले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्दछ । जस्तै बालमैत्री स्थानीय शासन घोषणाको ५१ वटा सूचकहरु मध्ये ११ वटा प्रत्यक्षरुपमा स्वास्थ्यले हेर्नुपर्ने हुन्छ भने अप्रत्यक्ष रुपमा १६ वटा हेर्छ । यस्तै शिक्षा, सामाजिक निकायहरु र संस्थागत सूचकहरु पनि रहेका छन् । सबै यस्ता संस्थाहरुसँग र स्थानीय जनमानसबाट विभिन्न सहयोग पाइरहेका छौं ।
समाजः बालबालिकाहरु कतिको शोषणमा परेको पाउनुभयो ?
ढुंगानाः स्थिति सोचेको भन्दा पनि धेरै गम्भीर पायौं । उपमहानगर भित्र त बालविवाह हुँदैन, बालश्रम हुँदैन भन्ने लागेको थियो । तर, पढे, लेखेका परिवार भित्रको बालबालिकाहरु बालश्रममा लागेको भेटियो । पढे, लेखेका भाइ–बहिनीहरुले बालविवाह गरेको भट्यौं । समस्या के हो भनेर बुझ्दा यो आर्थिक कारणले मात्र नभएर अभिभावक आफैं पनि मुख्य कारण जस्तो लागेको छ । अभिभावकले आफ्ना बालबालिकालाई समय नदिएको, बेवास्ता गरेको हुनाले यो समस्याको समाधान गर्न जटिल छ ।
समाजः हेटौँडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा कहिले गर्ने लक्ष्य राखेको छ ?
ढुंगानाः हामी मितिमा भन्दा पनि यसको प्रभावकारितामा बढि जोड गर्दैछौं । यसको गतिशीलता कति छिटो हुन्छ त्यतिनै चाँडो काम सकिन्छ । नगरपालिकाको लक्ष्य चाहि मसिंर मसान्तसम्म राखेका छ ।