हेटौंडाः भिमफेदी गाउँपालिकामा पुर्वाधार तर्फका कामहरु पुनः सञ्चालन भएको छ । चालु आर्थिक वर्षमा पुर्वाधारतर्फ साना—ठुला गरी १ सय ८० वटा योजनाहरु रहेकामा सय वटाको काम सकिएको र ८० वटा प्रक्रियामा रहेको गाउँपालिकाका योजना शाखा प्रमुख बद्रि सापकोटाले जानकारी दिनुभयो ।
योजना प्रमुख सापकोटाका अनुसार सरकारले गत चैत ११ गतेबाट देशमा लकडाउन गरेपछि लगभग ४० दिन जति रोकिएको योजनाका कामहरु लकडाउनको मापदण्डहरुलाई पालना गरेर, भौतिक दुरी कायम गरेर पुनःसञ्चालनमा ल्याइएको हो । हाल गाउँपालिकामा गाउँपालिका भवन निर्माणको काम पनि सञ्चालन भैरहेको छ । ७ करोडको लागत अनुमान गरिएको गाउँपालिका भवनको लागि ४ करोड १२ लाखमा निर्माण कम्पनी आर.एन.सी. नेचुरल जेभी काठमाण्डौसँग निर्माण सम्झौता भएको थियो ।
गाउँपालिका भवन निर्माणको कार्य पहिलो तल्लाको ढलान भैसकेको छ र हाल दोस्रो तल्लाको ढलानका लागि कार्य भैरहेको छ । भवन निर्माणमा २० जना कामदार खटिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले २०७७ साल भदौ महिनासम्म भवन निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएकोमा यो योजना केहि पछि सर्ने भएको छ । अन्य निर्माणका सामग्रीहरु सहजै उपलब्ध भैरहे पनि इट्टा ल्याउन भने केहि समस्या भैरहेको योजना प्रमुख सापकोटाले बताउनुभयो ।
हाल गाउँपालिकामा सडक निर्माण र स्ल्याब ढलानका कार्यहरु पनि भैरहेका छन् । गत आर्थिक वर्षबाटै सुरु भएको वडा नम्बर ६ धोर्सिङबाट वडा नम्बर ९ अघोरसम्म जोडने सडकको काम भैरहेको छ । चालु आर्थिक वर्षमा सो सडकका लागि गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ५ को दम्की र वडा नम्बर ५ कै सुपिङ जोड्ने सडकको स्ल्याब ढलानको काम पनि भैरहेको छ । सो स्ल्याब ढलानको लागि गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ सुपिङदेखि वडा नम्बर ३ इचुङसम्मको कच्ची सडक निर्माणको कार्य पनि भैरहेको छ । सो सडकको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख वजेट छुटाएको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गाउँपालिकामा वर्तमान समयमा लकडाउन मापदण्डहरुलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गरेर गाउँपालिकाको पुर्वाधार तर्फको योजनाहरु केहि दिन रोकिए पनि पुनः सञ्चालन भैरहेको बताउनुभयो । उहाँले गाउँपालिकाको पुर्वाधारतर्फ योजनाहरुको कार्यमा हाल स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले योजनाहरु पुनः सञ्चालन गर्नाले राहत लिन आउनेको पनि कमि भएको बताउनुभयो । हाल गाउँपालिकालाई श्रमदान र विकासको काममा पनि जनशक्तिको कमी नभएको उहाँको भनाइ छ ।