घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले हेटौंडा उपमहानगपालिका क्षेत्रका उद्योगको अनुगमन गरिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतरालाई न्यून गरी उद्योग सञ्चालन भए, नभएको विषयमा घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा, सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल, मकवानपुर उद्योग वाणिज्य संघसहितको टोलीले गरेको अनुगमनका क्रममा काममा रहेका कामदारको संख्या, स्वास्थ्य सतर्कता तथा सरसफाईको व्यवस्था हेरिएको बताइएको छ । यसअघि पनि यो टीमले उद्योगहरुको निरिक्षण गर्दै आएको छ । अनुगमनमा के देखियो वा कस्तो निर्देशन दिईयो वा दिएका निर्देशनको परिपालना भए, नभएको अवस्थाको मूल्यांकन हुन आवश्यक छ । तर टोली जाने र उद्योगकातर्फबाट ब्रिफिङ मात्र सुनेर फर्कने काम हुनु हुँदैन ।

नेपाली उद्योगहरु सरदर अवस्थामा सन्चालन हुँदै आएका छन् । तर विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण भएको बन्दाबन्दीले धाराशायीको अवस्थामा पुगेका छन् । केहीदिन बन्द हुँदा मात्र पनि अर्बौंको नोक्सानी हुने देशभरका उद्योगहरु लगातार दुई महिना ठप्प हुँदा राज्यले व्यहोरेको नोक्सानीको लेखाजोखा गरिसाध्य छैन । रुग्ण उद्योगहरु त सदाका लागि नै बन्द हुने अवस्था छ । त्यतिमात्र हैन कि ती उद्योगमा कार्यरत श्रमिकहरुको अवस्था थप जटिल बन्दै गएको छ । अत्यावश्यक सेवा र वस्तु उत्पादन गर्ने ४२ प्रकारका उद्योग सन्चालन गर्न सरकारले दिएको अनुमतिअनुसार मकवानपुरमा पनि केही उद्योगहरु सन्चालन हुँदै आएका छन् ।

श्रमिकहरुको स्वास्थ्य सुरक्षाको सावधानीका साथ उद्योग सन्चालन गर्न भनिए पनि त्यस अनुसारको प्रवन्ध भए, नभएको हेर्नु अनुगमनको महत्वपूर्ण पक्ष हो । आवश्यकताका आधारमा गरेको निर्णयले सन्चालनमा व्यवहारिक कठिनाई देखिएको छ । मजदुरहरुलाई खाना तथा वसोबासको व्यवस्था गर्नुपर्ने प्रावधान सबै उद्योगहरुले लागु गर्न सकेका छैनन् । कर्मचारीको आउजाउ समस्या छ भने दिनभर काम गर्ने र फेरी घरमै बास बस्न पुग्नु पर्ने अवस्थाले कोरोनाको जोखिम बढाउने देखिएको छ । यस्तै उद्योग सञ्चालनका लागि कच्चापदार्थको अभाव, उत्पादित वस्तुको ढुवानीमा समस्या छ । त्यतिमात्र हैन टाढा घर गएका श्रमिकहरु फर्कन सक्ने अवस्था छैन । काममा आएकहरुको स्वास्थ्य परिक्षणदेखि भौतिक दुरी कायम गरी काम गर्ने अवस्था र व्यवस्थापन चुनौती बनेको छ ।

सरकारले दिएको निर्देशनअनुसारको व्यवस्थापनमा उद्योगहरु सन्चालन भए, नभएको अनुगमन महत्वपूर्ण पक्ष हो । उद्योग सन्चालन गर्नु भन्दा पनि श्रमिकको स्वास्थ्य सुरक्षा प्रमुख विषय हो । व्यवस्थापन र श्रमिकहरु बीचको सम्बन्ध र काम गर्ने वातावरणका विषयमा अनुगमन हुन आवश्यक छ । तर निरिक्षणमा जानेहरुले उद्योगहरुका गुनासा मात्र सुन्ने गरेको पाईन्छ । मालिकका साथै मजदुरका पक्षबाट पनि अनुसन्धान हुन आवश्यक छ । अनुगमन गर्दा उद्योग प्रतिष्ठानहरुले कामदारहरुलाई दिएको सुविधाका विषयमा जानकारी लिनु पर्दछ । यस्तै कार्यरतहरुको स्वास्थ्यदेखि आर्थिक अवस्थाको विषयमा अध्ययन जरुरी छ ।

केही उद्योगहरुले राज्यले नै गरेको बन्दाबन्दीको मौकामा कामदारहरुलाई अवकास समेत दिएका छन् भने कतिपयले तलबकट्टा गरेको पाईएको छ । यस्ता क्रियाकलाप अमानवीय हुन् । दुखका समयमा एक–अर्का बीचको सौहाद्र्धता हुनु पर्दछ । तर गलत उद्देश्यबाट प्रेरित भई आफ्नो स्वार्थ पुरा गर्ने उद्योगहरुलाई सरकारले कारवाहीको दायारामा ल्याउन आवश्यक छ । त्यसैले अनुगमनकर्ता निकायहरुले उद्योग सन्चालकका तर्फबाट मात्र नभई श्रमिकको अधिकारका पक्षमा पनि दृष्टि लगाउन आवश्यक हुन्छ ।