फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा जारी खुला राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत लिग चरणको दोस्रो खेलमा पनि मकवानपुर पराजित भएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा बुधबार बिहान भएको खेलमा मकवानपुर त्रिभुवन आर्मीसँग ३–० सेटले पराजित भएको हो । आर्मीसँग घरेलु टोली मकवानपुर २५–१४, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित भएको हो । म्यान अफ द म्याच आर्मीका शरण सामरी घोषित भए ।

यसअघि मंगलबारको पहिलो खलमा मकवानपुर गण्डकी प्रदेशको भलिबल टिमसँग ३–० सेटले पराजित भएको थियो । मकवानपुरले अब लिगको अन्तिम खेलमा बिहिबार वालिङ भलिबल टिमसँग खेल्नेछ । बिहिबारको खेलमा पराजित भएमा मकवानपुर प्रतियोगिताबाट बाहिरिनेछ ।

बुधबार बिहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशले दोस्रो पटक जित निकालेको छ । मंगलबार भएको पहिलो खेलमा मकवानपुरलाई हराएको गण्डकीले वालिङलाई ३–१ सेटले हराएको हो । पहिलो र दोस्रो सेट २५–१७, २५–१० ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट भने २३–२५ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै गण्डकी प्रदेशको भलिबल टिम सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । समूह चरणको दुबै खेल जितेको गण्डकीले समूह चरणको अन्तिम खेल बिहीबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो झापाको पाथिभरा टाइगर भलिबल क्लबले नेपाल पुलिस क्लबसँग र त्रिभुवन आर्मी क्लबले वालिङसँग खेल्नेछ ।