हेटौंडामा खेलकुदका कार्यक्रम आयोजना गर्ने क्रम बढ्दैछ । बागमती प्रदेशको राजधानी भएपछि हेटौंडामा खेल गतिविधि बढेको हो । हेटौंडामा थुप्रै राष्ट्रिय, प्रादेशिक तथा स्थानीय खेलकुद प्रतियोगिताहरु आयोजना हुन थालेका छन् । विभिन्न प्रकारका खेलकुद प्रतियोगिता सञ्चालन गर्न र खेल अभ्यासलाई प्रभावकारी र व्यवस्थित बनाउन खेल पूर्वाधार आवश्यक पर्छ नै । हेटौंडामा सुविधासम्पन्न प्रतियोगिता स्थल तथा खेल पूर्वाधारको व्यवस्थापन हुन नसकेको भए पनि प्रतियोगिता आयोजना गर्ने क्रम बढ्नुलाई सुखद् मान्नैपर्छ । हुन त आजभन्दा ४० वर्षअघि नै प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता गराएको हेटौंडाको खेल इतिहास कमजोर छैन । तत्कालीन समयमा देशभरका नगर पञ्चायतको सहभागितामा हेटौंडाको गौरीटार रंगशालामा प्रथम अन्तर नगर खेलकुद कार्यक्रम भएको थियो । राष्ट्रिय प्रतियोगिता आयोजना भएको ४० वर्ष बितिसक्दा पनि उक्त प्रतियोगिताको आयोजनास्थल गौरीटार रंगशाला रंगशालाजस्तो बन्न सकेको छैन ।

हेटौंडाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार गरेको छ । खेल अभ्यासका लागि उपयुक्त पूर्वाधार नहुँदा र खेलकुद प्रतियोगिताहरु खासै सञ्चालन नहुँदासमेत हेटौंडाले विभिन्न खेलका राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ । खेलकुद प्रतियोगिता सञ्चालन गर्न पर्याप्त पूर्वाधार नहुँदा आशातित खेलकुद प्रतियोगिता हेटौंडामा हुन सकेको छैन । अहिले दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता हेटौंडामा सञ्चालन भइरहेको छ । खेल पूर्वाधारको कमीकै कारण प्रदेश खेलकुद प्रतियोगितामा समावेश सबै खेल हेटौंडामा खेलाइएको छैन । प्रतियोगितामा समावेश १३ खेलमध्ये ९ वटामात्र हेटौंडामा सञ्चालन हुनेछन् भने क्रिकेट, पौडीलगायत ४ खेल अन्य जिल्लामा आयोजना भइरहेको छ । यदि हेटौंडामा खेल खेल्नका लागि उपयुक्त पूर्वाधार हुन्थ्यो भने प्रदेश खेलकुदका सबै खेल हेटौंडामै सञ्चालन गरिन्थ्यो होला ।

प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरिएको गौरीटार रंगशाला निर्माण कार्य कछुवाको गतिमा छ । २०६६ सालमै केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण गर्न शिलान्यास भएको रंगशालालाई पछिल्लो समय प्रदेश सरकारको समेत लगानीमा काम भइरहेको भए पनि काम निकै सुस्त भइरहेको छ । प्रदेश खेलकुद प्रतियोगिताको महिला फुटबल खेलाएर भए पनि गौरीटार रंगशालाले अस्तित्व कायम राखेको छ । बरु जनस्तरको पहलमा करिब २ वर्षमै निर्माण भएको पिप्ले क्याम्पा रंगशालाले अहिले प्रदेश राजधानीको लाज धानेको छ । अहिले भइरहेको प्रदेश खेलकुदको उद्घाटन सोही रंगशालामा भयो । समापन तथा पुरुष फुटबल र एथलेटिक्सका खेलहरु पनि सोही रंगशालामा हुँदैछन् । प्रदेश खेलकुदका धेरै खेलहरु भने हुप्रचौरमा भइरहेका छन् ।

देशकै मध्यभागमा रहेको र संघीय राजधानी काठमाडौंबाट नजिकै भएकाले हेटौंडामा खेल पूर्वाधार आवश्यक छ । उपमहानगरपालिका हुनका लागि पनि रंगशालाको सुविधा हुनुपर्छ । खेल पूर्वाधारको उचित विकास भएमा हेटौंडामा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने सम्भावना देखिन्छ । गौरीटार रंगशालालाई पूर्णता दिएर एवम् अन्य आवश्यक खेल पूर्वाधार तयार पारेर प्रदेशस्तरीय मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता एवम् प्रशिक्षण हेटौंडामा गर्ने वातावरण तयार पार्नु आवश्यक छ । अहिले भएका सिमित पूर्वाधारबाटै भए पनि विभिन्न खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आवश्यक खेल पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिनु पर्छ । खेलाडीको अभ्यास तथा प्रशिक्षणलाई प्रभावकारी बनाउन र प्रतियोगिता सञ्चालन सहज बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले खेल पूर्वाधारमा पर्याप्त लगानी गर्नु उचित हुनेछ ।