बिहान उठेदेखि नसुतेसम्म, जन्मेदेखि मृत्युुसम्म हावापछि जिवनको दोस्रो आवश्यक वस्तु हो पानी । पानी बिना हामी जिवनको कल्पना समेत गर्न सक्दैनौं । पानीको रुप, रंग, आकार हुँदैन । यो सर्वमान्य हो । तथापि हामीले पिउने पानी नेपाल सरकारबाट बेला–बेलामा जारी भएको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार शुद्ध पानी पाउनु हाम्रो अधिकार हो भने शुद्ध पानी वितरण गर्नु सेवा प्रदायकको कर्तव्य हो । तसर्थ हाम्रो सेवामुलक संस्थाको कसरी गठन भएको छ यसको काम, कर्तव्य के हो ? विगत र वर्तमान अवस्था कस्तो छ ? आदि बारेमा जानी राख्नु आवश्यक छ ।
खानेपानी बोर्डसम्बन्धी व्यवस्था गर्न नेपाल सरकारले २०६३ साल असोजमा “खानेपानी व्यवस्थापन बोर्ड ऐन–२०६३” जारी गरेको छ । ऐनको प्रस्तावनामै नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाई सेवालाई नियमित, व्यवस्थित, गुणस्तरयुक्त र सुलभ बनाई त्यस्तो क्षेत्रका बासिन्दालाई भरपर्दो सेवा प्रदान गर्ने गराउने उचित र प्रभावकारी व्यवस्था गर्ने सम्बन्धमा खानेपानी व्यवस्थापन बोर्डको स्थापना र सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले बोर्ड सञ्चालन गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड नियमावली २०६६ नेपाल सरकारबाट स्वीकृत गरी बोर्ड संचालन भईरहेको छ ।
बोर्ड गठनः नगरपालिकासँग परामर्श गरी आवश्यकता अनुसार खानेपानी व्यवस्थापन बोर्ड गठन गर्न सक्ने छ भनी उल्लेख गरिएको भए तापनि गाउँ विकास समितिसँग भौगोलिक सिमाना जोडिएको अवस्थामा उक्त क्षेत्रलाई पनि समेटी बोर्डको कार्य क्षेत्रभित्र समावेश गर्न सकिने छ ।
बोर्डको काम, कर्तव्य र अधिकारहरुः
क) सेवा उपयोग सम्बन्धी नीति बनाई कार्यान्वयन गर्ने गराउने,
ख) सेवा प्रणाली प्राप्त, निर्माण, सुधार, विस्तार गर्ने गराउने,
ग) खानेपानी दुरुपयोग रोक्ने र प्रदुषण हुन नदिने,
घ) श्रोतको खोजी गर्ने, सरसफाई सम्बन्धमा अध्ययन गर्ने गराउने,
ङ) अल्पकालिन तथा दिर्घकालिन योजना बनाई कार्यान्वयन गर्ने गराउने,
च) आवश्यक पर्ने आर्थिक श्रोतको व्यवस्था गरी योजना तयार गर्ने गराउने,
छ) सेवा विस्तारको तथा विकासका लागि श्रोत पहिचान गरी प्राप्त गर्ने गराउने,
ज) गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न व्यवस्था गर्ने गराउने,
झ) कानुन अनुसार सेवाको महशुलदर निर्धारण गर्ने गराउने,
ञ) सेवा प्रदान गर्न अनुमति प्रदान गर्ने गराउने,
ट) निर्धारित महशुल अशुल गर्ने गराउने,
ठ) उपभोक्ताहरुको गुनासो सुनी उपयुक्त निकास दिने,
ड) सेवा सन्चालनका लागि आवश्यक पर्ने अन्य तोकिए अनुसारका काम गर्ने,
कार्यकारी समितिको गठन
बोर्डबाट प्रदान गरिने सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न एक कार्यकारी समिति रहने छ ।
समितिको गठनः १) भौगोलिक क्षेत्रभित्रको नगरपालिकाको प्रमुखः सदस्य
२) प्रतिनिधि खानेपानी मन्त्रालयः सदस्य
३) उद्योग बाणिज्य संघ अध्यक्षः सदस्य
४) स्थानीय उपभोक्ता संघको अध्यक्षः सदस्य
५) खानेपानी सरसफाई क्षेत्रमा कार्यरत गैसस मध्येबाट समितिले मनोनयन गरेको व्यक्तिः सदस्य
६) खानेपानी तथा सरसफाई क्षेत्रका विज्ञहरु मध्येबाट समितिले मनोनयन गरेको व्यक्तिः सदस्य
र सदस्य–सचिबको कार्य बोर्डको कार्यकारी निर्देशकले गर्नेछ ।
माथि उल्लेखित सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ । समितिले बोर्डको नियम कानुनको परिधि भित्र रहेर बोर्ड सञ्चालन गर्न नियामावली संशोधनका लागि खानेपानी मन्त्रालयमा प्रस्ताव पेश गर्न सक्नेछ । साथै बोर्डका लागि आवश्यक कार्यविधि तयार गरी लागु गर्न सक्ने ।
विगत र वर्तमानः हेटौँडामा खानेपानी व्यवस्थापन बोर्डको इतिहास २०६६ सालबाट मात्र सुरु भएको हो । हेटौँडा नगर भित्र नेपाल खानेपानी संस्थानको सेवा क्षेत्रभित्र समग्र खानेपानी सुधार गर्ने उद्देश्यले एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको सहयोगमा १९ करोड ७४ लाखमा भण्डारण क्षमता बृद्धि, श्रोतमा बृद्धि, शाखा पाईपलाईन सुधार विस्तार भएबाट खानेपानीका उपभोक्ताहरुले पानीमा केहि राहतको अनुभुति गर्न पाएको कुरालाई नकार्न सकिन्न ।
२०७० साल जेष्ठ ८ गते नेपाल सरकारको निर्णय अनुसार विधिवत रुपमा नेपाल खानेपानी संस्थानको चल–अचल सम्पति हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भई आएको हो । बोर्डमा हस्तान्तरण पश्चात खानेपानी सेवाको व्यवस्थापन बोर्डले गर्दै आइरहेको छ । बोर्डमा हस्तान्तरणपछि खानेपानीको क्षेत्रमा उल्लेख्य सुधार हुँदै आइरहेको व्यहोरा सबैमा जगजाहेरनै छ । २०७० साल अगाडि दैनिक सरदर ६० लाख लिटर खानेपानी वितरण, ८,५३७ वटा धारा संख्या र मासिक रु १५ लाख आम्दानी गर्दै आइरहेकोमा हालका दिनसम्म आईपुग्दा बोर्डले दैनिक सरदर पानी उत्पादन करिब २ करोड, धारा संख्या करीब २३,५४० र मासिक आम्दानी करिब १ (एक) करोड रुपैयाँ रहेको छ । त्यसैगरी पानी वितरण समय सरदर २ देखि ३ घण्टाबाट बृद्धि भई हाल ६ देखि ७ घण्टा पुगेको छ ।
खानेपानीको सेवा क्षेत्र वडा नं.२, ४, ५, ८, ९, १० र वडा नं. १, र ६ का केहि भागमा मात्र भएकोमा हाल वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६ र १७, १८ र १९ नं. वडाका केही भागमा खानेपानी वितरण भएको छ । यसबाट पनि यो प्रष्ट हुन्छ कि खानेपानीको क्षेत्रमा बोर्डले छोटो अवधिमा लामो फड्को मार्न सफल भएको छ । २०७८ साल भाद्र महिनादेखि खानेपानीमा स्थानीय सरकार (हेटौँडा उपमहानगरपालिका) को आर्थिक अनुदान सहयोगमा १० हजार लिटर बराबर न्यूनतम शुल्क रु ८५ बोर्डले छुट दिँदै आइरहेको छ । यसबाट बोर्डमा आबद्ध हुन नआएका उपभोक्तहरु प्नि बोर्डको सेवाप्रति आकर्षित हुन थालेका छन् ।
समग्रमा हेटौँडा उपमहानगरपालिका भित्र बस्ने सबै उपभोक्ताहरुले सहजरुपमा एउटै मुल्यमा सुरक्षित पानी पिउन पाउनुपर्छ । तर यसो भनिरहँदा भौगोलिक विकटताको कारण तत्काल सम्भब नभए पनि प्रयास जारीराखेमा अवश्य गन्तव्यमा पुग्न सकीन्छ । हाल अन्य क्षेत्रमा भन्दा बजार क्षेत्रको वडा नं. १, २, ४, ५ र १० मा जनचापमा बृद्धि भएसँगै पानी उत्पादनमा तत्काल बृद्धि गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारको सहयोगमा सेवा सञ्चालनको क्षेत्रमा बृद्धि गर्दै जानुपर्ने देखिन्छ । त्यसैगरी प्रदेश सरकारको सहयोगमा अल्पकालिन र संघीय सरकारको सहयोगमा दिर्घकालिन योजना बनाई अगाडि बढ्नुको विकल्प छैन । अन्यथा २०७० साल अगाडिको अवस्था नआउला भन्न सकिन्न । अन्तमा २०८० जेष्ठ ८ गते खानेपानी व्यवस्थापन बोर्ड हेटौँडाको १० औं वार्षिकोत्सवमा सदाझैँ सेवा उपलब्धताको अपेक्षासहित मंगलमय शुभकामना ।
(ढकाल हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सेवा निवृत्त कार्यकारी प्रमुख हुनुहुन्छ ।)