विश्व नै कोभिड–१९ को प्रकोपबाट ग्रस्त भएको छ । यो महामारीले नेपाल पनि जोखिममा छ । तर अन्य मुलुकको तुलनामा अहिलेसम्म नेपाल सुरक्षित गन्तव्य जस्तै बनेको छ । त्यसैले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहन्छन् । विश्व रोजगार बजारमा उद्योग कलकारखानाहरु बन्द भए पनि बेरोजगार बनेर त्यहीँ बस्नु भन्दा आफ्नो देश फर्कन चाहना राख्नु स्वभाविक हो । यस्तै अवैध रुपमा बसेकाहरुलाई पनि कतिपय देशहरुले माफी दिई स्वदेश फर्कने मौका दिएका छन् । त्यसैले पनि आफ्नो घर फर्कनेहरुको संख्या ठूलो छ ।
विश्वका जुनसुकै कुनामा बसेका भए पनि नेपालीहरुको जिम्मेवारी नेपाल सरकारकै हो । उनीहरुले पठाएको रेमिटान्सले देश सन्चालन गरिएको यथार्थ हो । रोजगारी पाउन जेल र सुरक्षित रहुन्जेल उनीहरुको पाखुरी खाने तर अहिले अप्ठेरोमा परेका बेलामा राज्यले उनीहरुलाई कुनै पनि अवस्थामा बेवास्ता गर्नु हुँदैन । कामका लागि गएका मात्र नभई अहिले विभिन्न देशमा अध्ययनका लागि गएका विद्यार्थीहरु पनि अलपत्र परेका छन् । हिजो चीनबाट विद्यार्थीलाई उद्दार गरियो भने त्यही अवस्थामा रहेका अन्य मुलुकका नेपालीहरुलाई पनि उस्तै व्यवहारको अपेक्षा स्वभाविक हुन्छ ।
संसददेखि सडकसम्म पनि बिदेशमा अलपत्र परेका नेपाली नागरिकलाई फिर्ता ल्याउने व्यवस्था मिलाउन सरकारलाई दबाव छ । प्रतिपक्षी तथा सत्तापक्षकै सांसददेखि संसदीय समितिहरुले पनि विदेशमा रहेका विद्यार्थी तथा कामदारहरुलाई उद्दारका लागि सरकारलाई निर्देशन दिएका छन् । अलपत्र परेकाहरुले पनि हारगुहार गरिरहेका छन् । कतिपय देशले अवैध रुपमा रहेकाहरुलाई आफ्नो देश जान मौका पनि दिएको छ । यही मौकाको उपयोग गर्दैै स्वदेश फर्कन चाहनेहरुको संख्या पनि ठूलो छ ।
स्वदेश आउन चाहने नेपालीहरुलाई त्यहाँको सरकारले एकै स्थानमा भेला पारेर राखिसकेको छ । हवाई उडान चालु भएको अवस्था थियो भने यतिबेला लाखौंको संख्यामा विदेशमा भएका नेपालीहरु स्वादेश फर्किसकेका हुने थिए । तर सरकार अहिले पनि ठोस निर्णयमा पुग्न सकेको छैन । यता भारतीय सिमानामा आएका आफ्ना नागरिकलाई व्यवस्थित गर्न मुस्किल भईरहेको समयमा विदेशबाट ल्याएपछि हुने जोखिम र व्यवस्थापन सरकारको चुनौती बनेको छ । त्यसैले सरकार सकेसम्म छिटै कुनै निर्णय गरिहाल्ने पक्षमा छैन । तर यसरी भाग्नु भन्दा योजना बनाई समाधान खोज्नु पर्दछ ।
विश्वका धेरै देशहरुले नेपालमा रहेका उहीहरुका नागरिकलाई उद्दार गरिसकेका छन् । यसरी उद्दार गर्नु सम्बन्धित देशको जिम्मेवारी र जवाफदेहीता हो । कठिनाईको सामना गरेरै पनि नेपालले आफ्ना नागरिकको उद्दार गर्नुको विकल्प छैन । तर यसका लागि निश्चित कार्ययोजना बनाउनु पर्दछ । बिना तयारी र योजना उनीहरुलाई उद्दार गरिए अर्को संकट आउने निश्चित छ । उद्दारका लागि कुन जिल्लाका नागरिक कुन देशमा कति छन् भन्नेसम्मको तथ्यांक निकाल्नु पर्ने हुन्छ । त्यसपछि उनीहरुलाई ल्याएर कुन ठाउँको क्वारेन्टाईनमा राख्नेदेखि कस्तो प्रकारको रोजगारी उपलव्ध गराउनेसम्मका योजना जरुरी छ ।
केही हजार नागरिकका लागि क्वारेन्टाईन तथा आईसोलेशन वार्ड समेत नभई रहेको अवस्थामा लाखौंको संख्यामा स्वदेश भित्र्याएपछि गर्नुपर्ने व्यवस्थापन कम चुनौतीको विषय हैन । तर आजसम्म यसको तयारी शून्य नै छ । गम्भीर विषयमा तत्परता नदेखिनुले सरकारको नियत माथि आफन्तहरुले आशंका गर्न थालेका छन् । उद्दारको पर्खाईमा रहेकाहरुले दिन गन्न थालेका छन् । त्यसैले ढिला नगरी छिटो माध्यमबाट तयारी सहित उद्दार गरिनु पर्दछ ।