भारतको विरोधमा प्रदर्शनमा सहभागी युवाहरु ।

हेटौंडाः भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक बनाएको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा भारतविरुद्धको प्रदर्शन निरन्तर जारी छ । स्वतःस्फूर्त रुपमा युवाको समूहले प्लेकार्डसहित भारतको विरोधमा प्रदर्शन जारी राखेका हुन् । आज बिहान पनि हेटौंडाको बुद्धचोकमा युवाको एक समूहले नेपालको अखण्डता कायम रहने भन्दै नेपालको झण्डासहित भारतको विरुद्धमा प्रदर्शन गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय सन्धी, सम्झौता विपरित नेपाललाई निरन्तर हेपाहा प्रवृत्तिको व्यवहार गर्दै आएको र पछिल्लो समय नेपाली भूमिमै सडक निर्माण गर्ने कार्य अझ निन्दनीय भएकोले सडकमा उभिएर भारतको विरोध गरिएको हेटौंडाका शिवनारायण श्रेष्ठले जानकारी दिनुभयो । नेपालको अखण्डतालाई कायमै राख्न सचेत नागरिकको भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै भारत विरुद्धको प्रदर्शन निरन्तर जारी रहने उहाँले बताउनुभयो । प्रदर्शनमा सीमित संख्यामा सहभागी हुनुका साथै भौतिक दुरि कायम राखिएको थियो ।

केही युवाले घरमै प्रदर्शन गरिरहेका छन् । लकडाउनको समयमा सबै भेला हुन अनुकुल नभएका कारण घरमै बसेर प्लेकार्ड प्रदर्शन गरी सामाजिक सञ्जालमा विरोध प्रदर्शन गरिरहेका छन् ।