कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले आज विश्व नै त्राहिमाम् भएको छ । विज्ञानको क्षेत्रमा चमत्कार नै गरेका विश्वका ठूला र आधुनिक राष्ट्रहरु पनि कोरानासँग पराजित जस्तै भएका छन् । सबै डराएको अवस्था छ । सैन्य वा आणविक शक्ति भएका देशहरु आज कोरोना भाइरसका अगाडि निरीह बनेका छन् । यो महामारीसँग लड्ने र नागरिकलाई बचाउने जिम्मेवारी यतिबेला स्वास्थ्यकर्मीहरुको हात आएको छ । त्यसैले आफ्नो व्यक्तिगत जीवनको कुनै पर्वाह नगरी विश्वभरका स्वास्थ्यकर्मीहरु आज दिनरात कोरोना विरुद्धको महाअभियानमा डटिरहेका छन् ।

अनेकौं चुनौतीको सामना गर्दै महामारी विरुद्धको मोर्चाको नेतृत्व गर्ने स्वास्थ्यकर्मीहरु मध्ये नर्सहरुको भूमिका विशेष हुने गर्दछ । यसैक्रममा विश्व नर्सिङ दिवसका अवसरमा पनि कैयौं नागरिकहरुको मृत्युलाई नर्सहरुले स्विकार्नुको विकल्प भएन । दिवस मनाई रहँदा धेरै नर्सहरु आफैं कोरोनाको प्रकोपमा परिहरेका छन् भने कैयौंले जोखिम मोलेर सधैझैं आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्नु परेको छ । दिवसका अवसरमा पेशाकर्मीहरुका अधिकार, चुनौती र जिम्मेवारीका विषयमा गहन छलफल गर्ने र योजना बनाउने अवसर पनि हो । तर यसपटक यो दिवस नर्सहरुले महामारी विरुद्धको लडाईको नेतृत्वमा नै व्यतित गर्नु परको छ ।

मे १२ तारेख फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन । स्वास्थ्य सेवामा महत्वपूर्ण सेवा प्रदान गरेकी नाइटिङ्गेलको जन्मदिनका दिन विश्व नर्स दिवस मनाइने गरिएको छ । सन् १८२० को मे १२ तारेखमा फ्रान्सबाट नर्स दिवस मनाउन सुरु गरिएको हो । शारीरिक तथा मानसिक रुपमा बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ समाजको सम्मानित पेशा हो । तर पनि नेपाल जस्तो समाजमा अझै केही भिन्न विचार र चिन्तनका कारण यो पेशामा लाग्नेहरुले सामाजिक चुनौतीका सामना पनि उत्तिकै गर्नु परिरहेको छ । पुरुष प्रधान समाजमा नर्सिङ पेशामा रहने महिलाहरुले दोहोरो जिम्मेवारी निर्वाह गर्नु पर्ने बाध्यता छ ।

पारिवारिक व्यवहार नेपाली महिलाहरुको अविच्छिन्न बाध्यता हो भने पेशागत जिम्मेवारीले मानवीयतासँग सरोकार राख्दछ । त्यसैले गर्दा नर्सहरुले सन्तान र विरामीहरुको रेखदेखलाई समान रुपमा लिने गर्दछन् । यी दुबै जिम्मेवारी निर्वाह गर्दा नेपाली नर्सहरुले अनेकपटक सामाजिक अपहेनाको सामना गर्नु परेको छ । यही बाध्यतामा नर्सहरुले यतिबेला जीवन नै जोखिममा राखेर मानवताका पक्षमा आफुलाई समर्पण गरिरहेका छन् ।

कोरोना जस्तो अत्यन्त जोखिमपूर्ण रोगको प्रतिरोधमा उत्रने नेपाली स्वास्थ्यकर्मीहरुले थप चुनौतीको सामना गर्नु परेको छ । विश्वभर सयौंको संख्यामा स्वास्थ्यकर्मीहरुले कोभिडका कारण ज्यान गुमाएका छन् भने संक्रमित भएका छन् । नेपाली स्वास्थ्यकर्मीहरु पनि त्यो जोखिमबाट धेरै टाढा छैनन् । उनीहरु आज पनि स्वास्थ्य सुरक्षा सामाग्रीको अभावमा काम गर्न बाध्य छन् । विश्वमा महामारी फैलिएको लामो समयसम्म नेपाल भाइरसबाट टाढा नै थियो । त्यो अवधिमा सरकारले गर्नुपर्ने तयारी नगर्दा पछिल्लो समय नेपाली स्वास्थ्यकर्मीहरु सामाग्रीको अभावमा जोखिम मोलेरै काम गर्न बाध्य भए । सामान खरिदमा व्यवस्थापकहरु कमिसनको खेलमा रमाउँदा आजसम्म पनि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामाग्री उपलव्ध हुन सकेको छैन । तै पनि आफ्नो पेशागत जिम्मेवारी र मानवतालाई आत्मसात गर्दै नेपाली स्वास्थ्यकर्मीहरुले डटेर कोरोना विरुद्धको युद्धमा सफलता नै हासिल गरेका छन् ।

नेपालमा नर्सिङ्ग सेवा सुरु भएको छ दशकमा पनि यस पेशामा खासै सुधार देखिएको छैन । पेशागत जीवन, पारिवारिक तथा सामाजिक सुरक्षा जस्ता विषयका चुनौती आज पनि सामना गर्नुपर्ने बाध्यता नेपाली नर्सहरुको यथावत छ । चुनौतीबाट मुक्तिका लागि स्वास्थ्य सेवाको समग्र सुधारमा मात्र सम्भव हुने भएकाले सबैको ध्यान त्यस तर्फ जानु आवश्यक छ ।