हेटौंडाः बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ थियो । बुधबारसम्ममा कोरोना संक्रमित २ सय ४३ मध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा प्रादेशिक अस्पतालहरुमा गरिएको परीक्षणका आधारमा नयाँ संक्रमित पहिचान भएको हो । बुधबार पहिचान भएका संक्रमित मध्ये कपिलवस्तु जिल्लाका ९ जना पुरुष रहेका छन् । यस्तै रुपन्देही जिल्लाका ९ जना पुरुष र ३ जना महिला रहेका छन् । पर्सा जिल्लाका २ जना पुरुष र १ जना महिला रहेका छन् भने बाँके जिल्लाका एकजना पुरुष र नवलपरासी जिल्लाका एकजना पुरुष रहेका छन् । बुधबार पहिचान भएका नयाँ संक्रमित मध्ये रुपन्देहीमा ४ र १० वर्षीया बालिकादेखि पर्सा जिल्लाका ७४ वर्षीय पुरुषसम्म रहेका छन् । अन्य संक्रमित भने २२ देखि ४२ वर्ष उमेरसम्मका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ पहिचान भएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामँन्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् । स्वास्थ्य मन्त्रालयले बुधबार तीन पटकमा कुल २६ जना संक्रमितको पुष्टि गरेको हो । दिउँसो साढे १ बजे एकजना र १ बजेर ५० मिनेट जाँदा अर्को एकजना नयाँ संक्रमित पहिचान भएर कुल २१९ जना संक्रमित पुगेको जनाएको थियो । यस्तै साँझ ७ बजेर ५० मिनेट जाँदा मन्त्रालयले थप २४ जना नयाँ संक्रमित पहिचान भएको भन्दै कुल संक्रमितको संख्या २४३ पुगेको जनाएको हो । संक्रमित मध्ये बुधबार एकजना निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । चितवन जिल्लामा उपचाररत ६३ वर्षीया वृद्धा कोरोना संक्रमणबाट निको भएर बुधबार घर फर्र्किएकी हुन् ।
हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।