नेपाली सेनाको व्यवस्थापनमा काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण भइरहेको छ । राजधानीलाई तराईसँग द्रुतमार्गद्वारा जोडेर मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि द्रुतमार्गको आवश्यकता महसुस गरिएको हो । द्रुतमार्गभन्दा अघि नै प्रस्ताव गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि समेत दु्रतमार्गको आवश्यकता बोध गरेर यसको निर्माण सुरुवात गरिएको थियो । आर्थिक वर्ष २०६५–६६ बाट दु्रतमार्गको ट्रयाक खोल्ने काम सुरु भएसँगै यसको निर्माण मोडालिटीबारे विभिन्न प्रस्तावहरु तयार भए । द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–निजगढ एक घण्टाको सडक दुरीमा छोटिने भएकाले यसले काठमाडौंलाई तराईसँग नजिक्याउनेमात्र नभई उपत्यकाको जनघनत्व कम गर्न मद्दत गर्ने विश्वास गरियो । दु्रतमार्ग निर्माणका लागि भारतीय कम्पनीले डीपीआर तयार गरेर निर्माण र सञ्चालनको प्रस्ताव गरिएको भए पनि सरकारले दु्रतमार्ग आफैं निर्माण गर्ने निर्णय गरेपछि २०७४ सालमा नेपाली सेनालाई जिम्मा दिएको थियो । लामो समयको अन्यौलताका कारण द्रुतमार्ग नै नबन्ने पो हो कि भन्ने आशंकालाई चिर्दै निर्माण अघि बढेको दु्रतमार्गले आशातित गति लिन र काममा प्रगति गर्न भने सकेको छैन ।
बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको दु्रतमार्ग करिब ६ वर्षअघि निर्माण सुरु भएको भएको दु्रतमार्गमा हालसम्म एक चौथाई पनि काम सम्पन्न भएको छैन । २०७४ वैशाख २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो । वि.सं २०७४ जेठमा प्रधानमन्त्री प्रचण्डले निजगढको सुरु विन्दुमा द्रुतमार्ग शिलान्याससमेत गरेका थिए । तिनै प्रचण्ड अहिले फेरि प्रधानमन्त्रीको रुपमा द्रुतमार्गको अनुगमनमा आएका छन् ।
औपचारिकरुपमा उद्घाटन भई निर्माण सुरु भएको दु्रतमार्गमा समयमै काम भएको भए अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । डीपीआर तयारीमा अलमल, कोभिड–१९ तथा अन्य प्राविधिक कारण दु्रतमार्ग निर्माणले गति लिन नसकेको बताइन्छ । उद्घाटन गरेको करिब ३ वर्षपछि डीपीआर तयार भएको दु्रतमार्गमा हालसम्म करिब २४ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लो समय सुरुङ तथा पुलको काम सुरु भएपछि द्रुतमार्ग निर्माणको गतिसमेत बढ्न थालेको छ ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार द्रुतमार्गको अवलोकन गरेका छन् । प्रचण्डले तीनजना मन्त्रीहरुसहित मकवानपुरको बकैया गाउँपालिकास्थित महादेवटार र लेनडाँडा क्षेत्रमा द्रुतमार्गअन्तर्गत् निर्माणाधीन सुरुङ्गमार्गको अवलोकन गरेका हुन् । दु्रतमार्गको बारेमा काठमाडौंमै विस्तृत जानकारी लिएर निर्माणस्थल आएका प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गसँग सम्बन्धित र आवश्यक निर्णयहरु मंगलबारै मन्त्रिपरिषद्ले गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले द्रुतमार्ग निर्माण सन्तोषजनक रहेको बताए पनि यसमा निकै ढिलाई भइसकेको जगजाहेरै छ । प्रचण्ड आफैंले चार वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनालाई जिम्मा दिएर उद्घाटन गरेको ६ वर्षसम्म एक चौथाइ पनि निर्माण पूरा नभएको दु्रतमार्गको निर्माण सन्तोषजनक मान्न सकिँदैन । कोभिड महामारी र केही प्राविधिक कारण निर्माणमा केही ढिलाई भए पनि यसको गति निकै सुस्त देखिन्छ । निर्माण पूरा गर्न थपिएको अवधिसमेत अबको १५ महिनामा सकिने भए पनि त्यतिबेलासम्म दु्रतमार्ग पूरा हुने सम्भावना देखिँदैन ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई–मधेश दु्रतमार्ग निर्माणको जिम्मा पाएपछि नेपाली सेनाले विभिन्न ठाउँमा क्याम्प खडा गरी काम गरिरहेको छ । सेनाले मार्गका सामान्य कामहरु आफैं गरिरहेको भए पनि सुरुङ, पुल तथा अन्य जटिल प्रकृतिका कामहरु स्वदेशी तथा विदेशी कम्पनीमार्फत् ठेक्कामा गराइरहेको छ । ललितपुरको खोकना, काठमाडौंको दक्षिणकाली, मकवानपुरको पञ्चकन्या, गढी, धियाँल, छतिवन र बाराको भरतपुरी, लाल हुँदै निजगढ नजिक पूर्व–पश्चिम राजमार्ग पुगेर द्रुतमार्ग जोडिनेछ । करिब ७६ किलोमिटर लामो चार लेन चौडा द्रुतमार्ग समयमै निर्माण सम्पन्न नहुने भए पनि यसको गति बढाउनु आवश्यक छ । मार्ग दु्रत तर निर्माणको गति सुस्त हुन नदिन सरकार तथा नेपाली सेना गम्भीर हुनुपर्छ ।