थाहा नगरको पालुङमा स्थापना गरिएको काठ डिपोमा काठ पुर्याइँदै ।

हेटौंडाः जिल्ला वन पैदावार आपूर्ति समिति मकवानपुरले काठ बिक्रीबाट करिब २३ लाख रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म समितिले १ हजार ३ सय ५६ क्युबिक फिट काठ बिक्री गरेर २३ लाख ७ हजार ७ सय ४२ रुपैयाँ आम्दानी भएको हो ।

समितिले आघिल्लो आर्थिक वर्षमा गोलाई काठ बिक्री गर्दै आएकोमा यस वर्ष चिरान काठ बिक्री सुरु गरेको छ । समितिले ‘ए’ समूहको चिरान काठ प्रतिक्युबिक फिट ३ हजार ७ सय ९ रुपैयाँ २७ पैसामा बिक्री गर्दै आएको जनाएको छ । समितिसँग २ हजार एक सय क्युबिक फिट काठ रहेकोमा ६ सय २२ क्युबिक फिट काठ बिक्री गर्न बाँकी रहेको समितिले जनाएको छ । जिल्ला आपूर्ति समितिमार्फत् सर्वसाधारणलाई चिरान काठ बिक्री गर्न पालुङ र हेटौंडाको रातोमाटेमा डिपो रहेको छ ।

समितिले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा गोलाइ काठ ९८ घरधुरीलाई ९ हजार ३ सय ८७ क्युबिक फिट काठ बिक्री गरी १ करोड ३४ लाख २६ हजार ४ सय ३ रुपैयाँ आम्दानी गरेको थियो । समितिले गोलाइ काठलाई तीन समूहमा विभाजन गरी बिक्री गरेको थियो । समितिले ‘ए’ समूहको काठको गोलाइ प्रति क्युबिक फिट १ हजार ८ सय ४९ रुपैयाँ ३४ पैसा, ‘बी’ समूहको काठ प्रति क्युबिक फिट १ हजार ४ सय ५० रुपैयाँ ३४ पैसा र ‘सी’ समूहको काठ प्रति क्युबिक फिट १ हजार १ सय ८४ रुपैयाँ ३४ पैसामा बिक्री गरेको थियो ।

पछिल्लो समयमा काठको माग कम हुँदै आएको आपूर्ति समितिले जनाएको छ । काठको माग अनुसार अघिल्लो वर्षमा पूरा गर्न नसके पनि यस वर्ष मागअनुसार काठ उपलब्ध गराउन सकिने समितिले जानकारी दिएको छ । घर मर्मतका लागि २० क्युबिक फिट र नयाँ घर बनाउन ५० क्युबिक फिट काठ समितिले प्रदान गर्दै आएको छ । वडा कार्यालयको सिफारिस, घर निमार्णको नक्सापास, लालपूर्जा, नागरिकताको फोटोकपी र निवेदन दिएर काठ प्राप्त गर्न सकिनेछ ।