हेटौंडाः मकवानपुर जिल्लामा अहिले पशुहरुमा लाग्ने खोरेत रोगविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरका अनुसार जिल्लाका १० पालिकाहरुको सहकार्यमा खोप लगाउने तयारी भएको हो ।
खोप लगाउनका लागि केन्द्रले १० वटा पालिकाका लागि ८४ जना भ्याक्सिनेटर नियुक्त गरिएको प्रमुख ठाकुरले बताउनुभयो । पालिकाहरुको मागको आधारमा खोप वितरण गरिरहेको उहाँले बताउनुभयो । केन्द्रले अहिले केही पालिकाहरुमा खोप ढुवानी गर्न सुरु गरिसकेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका, बकैया गाँउपालिकाका र बागमती गाँउपालिकाका मा खोप ढुवानी गरिएको छ ।
हेटौंडामा रोग संक्रमण देखिएका र लक्षण देखिएका पशुका लागि १० हजार ५ सय खोप, बकैयाका लागि ५ हजार, बागमतीका लागि ३ हजार खोप पठाइएको छ । कैलाश गाँउपालिकाका र राक्सिराङ गाँउपालिकाका लागि १–१ हजार खोप पठाउने तयारी गरिरहेको छ । यस्तै, थाहा नगरपालिकाका लागि ५ हजार, मनहरी गाँउपालिकाका लागि ७ हजार ५ सय, भीमफेदी गाँउपालिकाका लागि ३ हजार, इन्द्रसरोवरका लागि १ हजार ५ सय र मकवानपुरगढी गाँउपालिकाका लागि ८ हजार ५ सय खोप पठाउने तयारी भइरहेको बताइएको छ । खोप निःशुल्क लगाउन सकिनेछ । अबको १५ दिनभित्र जिल्लामा खोरेत रोगको सुई लगाउने तयारी भएको उहाँले बताउनुभयो ।