नेपालमा यातायात भन्नेवित्तिकै सडक यातायातलाई बुझ्ने गरिन्छ । हवाई, रेल, जल, रोपवेजस्ता अन्य यातायातलाई जोड्ने भएकाले पनि सडक यातायातलाई विशेष महत्व दिने गरिन्छ । हामीकहाँ यातायातका अन्य साधनको प्रहुँच र प्रयोग व्यापक नहुँदा सडक यातायात विकल्पविहीन यातायातको साधन बनिरहेको छ । देशका सबै क्षेत्रमा सडक यातायात सञ्जालको वृद्धि र विकास भइरहेको छ । गाउँगाउँसम्म पनि सडकको पहुँच बढ्दै गएको छ । सडकको विकास र विस्तारसँगै सडकमा गुड्ने यातायातका साधनको वृद्धि पनि व्यापक बनिरहेको छ । सडक र सवारी साधनको वृद्धि र विकाससँगै दुर्घटनाको जोखिम पनि उत्तिकै बढिरहेको छ । सडकमा गुड्ने सवारी साधनलाई नियमन गर्ने र दुर्घटना न्यूनीकरणको जिम्मेवारी पाएको ट्राफिक प्रहरीको भूमिका प्रभावकारी बन्न सकिरहेको छैन । संघ र प्रदेशका यातायात व्यवस्था कार्यालय एवम् स्थानीय सरकार तथा ट्राफिक प्रहरीबीच उचित समन्वय र सहकार्य हुन नसक्दा सवारी व्यवस्थापन फितलो भइरहेको छ भने दुर्घटना बढ्दै गएको छ ।

सडकमा गुड्ने सबै प्रकारका सवारी साधनको नियमन गर्ने जिम्मेवारी पाएको ट्राफिक प्रहरीको ध्यान जरिवाना असुलीमा केन्द्रित हुने गरेको छ । ट्राफिक प्रहरीले सवारी व्यवस्थापन र ट्राफिक सचेतनामा भन्दा सवारी साधनलाई कारबाही गरी जरिवाना असुलीमा बढी ध्यान दिने गरेको पाइन्छ । मकवानपुरको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा सवारी साधनलाई कारबाही गरेर करिब साढे २ करोड जरिवाना संकलन गर्नुले यसलाई पुष्टि गर्दछ । चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ३१ हजार ४ सय ६७ सवारी साधनलाई कारबाही गरेर २ करोड ४४ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले गत आर्थिक वर्ष सवारी साधनलाई कारबाही गरेर २ करोड ३६ लाख ९० हजार रुपैयाँ जरिवाना संकलन गरेको थियो । अघिल्लो एक आर्थिक वर्षभित्र संकलन गरेको रकमभन्दा बढी चालु आर्थिक वर्षको ८ महिनामै ट्राफिक प्रहरीले जरिवाना उठाउँदा सवारी कारवाही र जरिवाना संकलनमा ट्राफिक प्रहरीको प्राथमिकता बनेको अनुमान गर्न सकिन्छ ।

चालु आर्थिक वर्षको ८ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट झण्डै ५२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ । जिल्लाका विभिन्न ट्राफिक प्रहरी तथा अस्थायी ट्राफिक प्रहरी पोष्टबाट पनि सवारी साधनलाई कारबाही गरेर उल्लेख्य जरिवाना संकलन गरिएको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार रातोमाटे पोष्टबाट ४० लाख ७० हजार, मनहरीबाट ३५ लाख ३७ हजार, चित्लाङबाट ३३ लाख ५६ हजार, भैंसेबाट २७ लाख ८८ हजार, नेवारपानीबाट ११ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ट्राफिक पोष्ट पालुङले ४ लाख ११ हजार, भीमफेदीले ९ लाख १२ हजार, ठूलोदमारले ५ लाख ३८ हजार, चौकीटोलले ५ लाख ६७ हजार, चौघडाले ४ लाख ६४ हजार, फाखेलले ११ लाख, लेवटले १ लाख ११ हजार, ठिंगनले १ लाख १४ हजार र फापरबारीले ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालमा चालकको लापरबाही तथा अन्य मानवीय त्रुटीबाट धेरै दुर्घटना हुने गरेको अवस्थामा ट्राफिक प्रहरीले नियमविपरित सवारी चलाउने चालकलाई कारबाही गर्नु स्वभाविक हो । अधिकांश दुर्घटनाको कारण तीब्र गति, ट्राफिक नियमको उल्लंघन र सवारीको प्राविधिक गडबडी नै देखिने गरेको छ । ट्राफिक प्रहरीको आँखा छलेर सवारी नियम उल्लंघन गर्ने परिपाटी कम हुन सकेको छैन । चालकहरुको यस्तो परिपाटीले ट्राफिक प्रहरीलाई सडकमा आकस्मिक चेकिङ गरेर जरिवाना असुल्न सहजै भएको छ । सबै प्रकारको सडक सवारी व्यवस्थापन र नियमनको जिम्मेवारी पाएको ट्राफिक प्रहरी जरिवाना असुलीमा मात्र केन्द्रित हुनुहुन्न । चालकलाई सचेत बनाउन प्रशिक्षण दिने, सवारीको प्राविधिक जाँच गर्ने, नियम पालनका लागि सचेत गराउने, सडक किनारामा रिफ्रेस सेन्टर स्थापना गर्ने, आवश्यकताअनुसार टाइमकार्ड लागू गर्नेलगायतका कार्यलाई प्रभावकारी बनाएमा जरिवाना गर्नुपर्ने अवस्थामा कमी आउनुका साथै दुर्घटना न्यूनीकरणसमेत हुने सम्भावना रहन्छ ।