स्ववियु निर्वाचनमा सहभागी हुँदै गरेको तीनवटा विद्यार्थी संगठनका जिल्ला अध्यक्षसँग कुराकानी गर्दाको तस्विर ।

श्रवण बर्तौला, अध्यक्षअनेरास्ववियु क्रान्तिकारी मकवानपुर भुवन मैनाली, अध्यक्षअनेरास्ववियु मकवानपुर सुबास सापकोटा, अध्यक्ष नेविसंघ मकवानपुर पर्सी चैत ५ गते आइतबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका सामुदायिक तथा आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । स्ववियुको आवधिक निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले अनुकुलतामा निर्वाचन गर्ने गरेको छ । नेपाली समाजमा आम निर्वाचन होस् या स्ववियु निर्वाचन अन्तिम समयसम्म पनि निर्वाचन हुन्छ र ? भनेर आशंका व्यक्त गर्ने गरिन्छ । मकवानपुरका ८ वटा क्याम्पस मध्ये थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियुका पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन् । बाँकी ७ वटा क्याम्पसमा आगामी आइतबार हुने निर्वाचनबाट स्ववियु पुनस्र्थापित हुनेछ । मकवानपुर जिल्लाका क्याम्पसमा स्ववियु निर्वाचनमा सहभागी हुँदै गरेको तीनवटा विद्यार्थी संगठनका जिल्ला अध्यक्षसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

तपाईहरुको यो गठबन्धनले स्ववियु निर्वाचनलाई कसरी उपयोग गर्ने गरी तयारी गरिरहनुभएको छ ?
श्रवणः समग्र शैक्षिक, सामाजिक, राजनीतिक आन्दोलनले निर्माण गरेको समष्टिरुप यो स्वतन्त्र विद्यार्थी युनियन हो । स्ववियुको निर्वाचन धेरै समयपछि त्रिविले घोषणा गरेको छ । निर्वाचन घोषणा भएपछि देशैभरका क्याम्पसहरुमा निर्वाचनको लहर छरेको छ । हामीले स्ववियुको निर्वाचनलाई विद्यार्थीको एउटा पर्वको रुपमा लिएका छाँै । हामीले यो देशमा अहिले नयाँ ढङ्गको शैक्षिक प्रणालीको आवश्यकता महसुस गरेका छाँै । यहाँको शिक्षा प्रणालीमा निजीकरण व्याप्त रुपमा मौलाएको छ । शिक्षाको व्यापार हुन गएको छ । त्यसकारण हामी निर्वाचनको उपयोग गरेर यसलाई हटाउनका लागि नयाँ शैक्षिक आन्दोलनको शुरुवात गर्न लागीपरेका छौँ ।

विश्वविद्यालय तहको शैक्षिक विषयमा के–के मुद्दाहरु रहन्छ ?
श्रवणः विश्वविद्यालय तहको सामुदायिक शिक्षालाई कस्तो बनाउने भन्ने विषयमा हाम्रो संगठन केन्द्रबाटै बहस गरिरहेको छ । समयमा स्ववियुको निर्वाचन हुन नसकेकाले विद्यार्थी आन्दोलन अहिले सुस्ताएको अवस्था छ । त्यसकारण हामी यो सुस्ताएको शैक्षिक आन्दोलनलाई उजागर गरी विभिन्न शैक्षिक मुद्दाहरु उठाउने प्रयास गर्दैछौँ ।

स्ववियुको निर्वाचनमा नेविसंघको मुद्दाहरु के–के छन् ?
सुवासः स्ववियुु नितान्त विद्यार्थी हकहित र विद्यार्थीका समस्याहरुको उजागरका लागि परिकल्पना भएको हो । तर अहिले विद्यार्थी संगठनहरु स्ववियुको परिकल्पना भन्दा केही बाहिर गएको देखिन्छ । शैक्षिक आन्दोलनमा केन्द्रित हुनुपर्ने विद्यार्थी संगठनहरु बढी राजनीतिक आन्दोलनमा लागेकाले शैक्षिक आन्दोलन कमजोर भएको पाइन्छ । त्यसैले नेविसंघले मकवानपुरमा स्ववियुमार्फत विद्यार्थीको समस्या, अधिकार र शिक्षामा भएका विकृतिहरुको विरुद्धको मुद्दाहरु उठाउँदै र बोल्दै आएका छाँै ।

विश्वविद्यालय तहको शैक्षिक क्षेत्रमा रहेका विकृतिहरु के–के देख्नुभएको छ ?
सुवासः नेपालको शिक्षा निजी र सामुदायिक गरी दुई किसिममा वर्गीकरण गरेको पाइन्छ । निजी कलेजका सञ्चालकहरु सामुदायिक कलेजहरुसँगै जोडेर सामुदायिक कलेजहरुको शिक्षाको गुणस्तरलाई कमजोर बनाई, सामुदायिक कलेजलाई ध्वस्त बनाउने रणनीतिमा रहेको देखिन्छ । सामान्य तथा निम्न वर्गका विद्यार्थीले पनि सामुदायिक कलेजमा गएर गुणस्तरीय शिक्षा नपाइरहेको अवस्था पनि रहेका छ ।

मकवानपुरको शैक्षिक आन्दोलनमा अनेरास्ववियुको भूमिका कस्तो रहन्छ ?
भुवनः मकवानपुरको शैक्षिक आन्दोलनमा अखिलको उल्लेखनीय भूमिका रहेको छ । पहिल्यैदेखि हाम्रो अनेरास्ववियुले सशक्त प्रस्तुति दिँदै आएको छ । यसै सन्दर्भमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा उम्मेदवार भएर निर्वाचित भइरहँदा सामुदायिक विद्यालय र कलेजहरुको शैक्षिक गुणस्तर र शिक्षामा समानताको विषयलाई प्रमुख मुद्दा बनाउने छौँ । शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने नै अनेरास्ववियुको मूल उद्देश्य हो ।

निर्वाचनको मुखमा आएर मात्र यस्ता मुद्दा उठाउनुपर्ने आवश्यकता किन आउँछ ?
भुवनः निर्वाचनको समयमा यस्ता कुरा आउनु सामान्य हो । तर अनेरास्ववियु निर्वाचन भएपनि नभएपनि विद्यार्थी हकहित र शैक्षिक मुद्दाका लागि सधैं अग्रसर हुने संगठन हो । किनकी अनेरास्ववियुले मकवानपुरको हरेक शैक्षिक क्षेत्रमा संगठन निर्माण, त्यहाँ भएका विभिन्न शैक्षिक विसङ्गति तथा विकृतिको विरुद्धमा सशक्त रुपमाा आवाज उठाउँदै आएको छ ।

स्ववियुले उठाएका शैक्षिक आन्दोलनकोे उपलब्धिहरु के–के देख्नुभएको छ ?
सुवासः हिजो स्ववियु निर्वाचन हुनुभन्दा अगाडि आम विद्यार्थीले आफ्ना समस्याहरु कलेज प्रशासनसम्म राख्न नसकिरहेको अवस्था थियो । स्ववियु निर्वाचन मार्फत निर्वाचित विद्यार्थी संगठनहरुका कारण अहिले यो सामान्य रुपमा परिणत भएको छ । समस्यामा परेका आम विद्यार्थीको आवाज बनेर कलेज प्रशासनसमक्ष राखेर त्यसको समाधान पनि स्ववियुले गर्दै आएको छ । हाम्रो नेविसंघले निर्वाचन नभएको समयमा पनि सधै विद्यार्थी माझ रहँदै आएका थियौँ र शैक्षिक विकृतिविरुद्धको आवाज बन्दै आएका थियौँ । प्रत्येक बर्ष अनावश्यक रुपमा सामुदायिक तथा निजी कलेजहरुले बढाएको शुल्कको विषयलाई लिएर पनि हाम्रो नेविसंघले आवाज उठाउँदै आएको छ । जसले गर्दा निम्न वर्गका विद्यार्थी समेत पढाइबाट वञ्चित हुन रोकेको छ । विद्यार्थी आन्दोलन कै कारण अहिले केही हदसम्म शैक्षिक विकृतिहरु कम हुन गएको छ ।

तपाईको संगठनले के के आधार मानेर उम्मेदवार छनौट गरेको छ ?
भुवनः उम्मेदवार छनौटको क्रममा २८ बर्ष हदबन्धी अनुसार नै मकवानपुरका विभिन्न विद्यालयमा उम्मेदवारी छनौट गरेको छ । त्यसमा हामीले प्रारम्भिक क्याम्पस कमिटीको सिफारिस अन्तर्गत रही उम्मेदवारी छनौट गरेका छाँै । क्याम्पसका विद्यार्थीहरुसँग समन्वय गरेर काम गरिरहेका र विद्यार्थीका हकहितका लागि लागीपरेका विद्यार्थी साथीहरु उम्मेदवार बन्नु भएको छ ।
स्ववियुले कस्ता मुद्दालाई उठाएर स्थापित हुनुपर्छ ?
श्रवणः निर्वाचित भएर गइसकेपछि स्ववियुले मुख्यतः त्यहाँ भित्रका शैक्षिक, राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरु निष्पक्ष रुपमा उठाउनु पर्दछ । स्ववियु सत्ताको रुपमा विकास हुनुहुँदैन । स्ववियु संघर्षको मोर्चाको रुपमा विकास गर्नुपर्दछ ।