अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक बर्ष मार्च ८ मा विश्वभरी नै मनाईन्छ । नारी दिवस राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिलाअधिकारको प्राप्ति, सम्मान, संरक्षण, सशक्तीकरण र लैङ्गिक समानताजस्ता सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका मुख्य विषयहरू हुने गरेका छन् । त्यसैले यसलाई महिलाजागरुकता सम्बन्धी दिवस पनि भन्न सकिन्छ ।
सर्वप्रथम् संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन् १९०९ फेब्रुअरी २८ मा अन्तर्राष्ट्रिय महिला गार्मेन्ट कामदारहरुको आन्दोलनको स्मरणमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । सन् १९१० मा डेनमार्कमा भएको कोपनहेगनको सम्मेलनबाट महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो । त्यस बेलाको समयमा महिलाहरूलाई मत दिने अधिकार, रोजगारी र श्रममा सहभागी हुन पाउने अवस्था थिएन । यसैले सुरुमा यसको मुख्य उद्देश्य महिलालाई मताधिकार दिनु मात्र भए पनि पछिल्लो समयमा महिलाले सार्वजनिक क्षेत्रमा प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने जस्ता कुरामा पनि बहस चल्न थाल्यो र महिलाअधिकार ज्वलन्त बहसको विषय बन्यो ।
ईतिहासलाई हेर्ने हो भने यो दिवस अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हुँदै सन् १९७५ बाट संयुक्त राष्ट्रसंघले श्रमिक हटाएर अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थाल्यो । यसरी क्रमिकरुपमा विश्वले ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा विश्व र नेपालको परिवेशमा महिलाहरुमा आएको परिवर्तन, आर्थिक, सामाजिक, राजनीतिक र श्रोतसाधन माथि उनीहरुको पहुँचको अवस्था आदिका विषयमा समिक्षा/बहस गर्न आवश्यक छ ।
परम्परागत दृष्टिकोणअनुसार महिलाको भूमिका, सन्तान जन्माउने, घरेलु काम गर्ने, सेवक र व्यक्तिगत सहयोगीको रुपमा काम गर्ने भन्ने बुझिन्थ्यो । हाल महिलाको विषय र मुद्दा सामाजिकीकरण हुँदै आउँदा पनि सामाजिक संरचनामा पितृसत्तात्मक सोच हावी भएको हुदाँ अहिले पनि महिलाप्रतिको स्थापित दृष्टिकोणमा खासै परिवर्तन आउन सकेको छैन ।
वर्तमान समाजले महिलालाई प्राकृतिक रुपमा सन्तान जन्माउन सक्ने, विशिष्ट क्षमता भएको भने तापनि शारीरिकरुपमा कमजोर, सहनशील, त्यागी जस्ता भ्रमात्मक विशेषतासहित व्याख्या गरेको छ । यी सब गुण/विशेषता महिलाले जन्मँदै ल्याएका भने होईन । बरु हाम्रो सामाजिक संरचनाले उनीहरुमाथि दमन, शोषण र शासन गरिरहन उनीहरुलाई यसरी निर्माण गरेको हो । अहिले आम मानिसले महिलालाई त्यसरी नै बुझेका छन् र महिलाहरुबाट त्यस्तै गुणहरुको अपेक्षा गरिन्छ । महिलाहरु स्वयम् नै त्यस्ता दिग्भ्रमित तथ्यलाई सत्य मानेर आफूलाई त्यसरी नै निर्माण र विकास गर्न यो समाजले बाध्य बनाएको छ ।
परिवर्तन गतिशील र निरन्तर चलिरहने प्रक्रिया हो । विश्वव्यापीकरणको प्रभाव, सूचना तथा सञ्चार प्रविधिमा मानिसहरुको सहज पहुँचको कारण विश्व समाजमा भएको परिवर्तन एक देशबाट अर्को देशमा द्रूत गतिमा रुपान्तरण भैरहेको छ । बदलिँदो समय र परिस्थितिअनुसार परिवर्तन अपरिहार्य नै हो । कहिलेकाहिँ असन्तुलित व्यवहार, असमानता, विभेद, श्रोत साधनमा सीमित जात, वर्ग र लिङ्गको कब्जा हुँदा त्यसको निकास र समाधान खोज्ने क्रममा द्वन्द्व सिर्जना हुन्छ र त्यो परिवर्तनको कारण बनिदिन्छ । अनि विकास र गतिशीलताका लागि परिवर्तन अपरिहार्य तत्व नै हो । परिवर्तनलाई अत्यावश्यक भने तापनि समाजमा स्थापित अवैज्ञानिक, तथ्यहिन धार्मिक र साँस्कृतिक मान्यताले महिलाप्रति मानवमस्तिष्कमा संकुचित दृष्टिकोणले जरा गाडेर बसेको छ । जसलाई सानो–तिनो बल वा प्रयासले मात्र निमिट्यान्न पार्न सम्भव छैन । अहिले महिलाहरु अधिकार सम्पन्न भएजस्तो देखिए तापनि पितृसत्तात्मक सोचबाट यसरी गाँजिएका छन् जसको कारण पितृसत्ताको जञ्जिरबाट निस्किएरमुलुकको शासन, विकास र निर्माणमा संख्यात्मक हिसाबले उपस्थित भएपनि अर्थपूर्ण सहभागिता स्थापित गर्न सकेको छैन ।
अझै पिँधमा रहेका दलित, सिमान्तकृत समुदाय तथा अपाङ्गता भएका महिलाहरु र यौनिक अल्पसंख्यकहरुको आर्थिक, राजनीतिक र सामाजिक अवस्थाको ग्राफ हेर्ने हो भने निकै दयनीय छ । यस्तो अवस्थाबाट गुज्रिरहेको महिला, दलित, सिमान्तकृत समुदायको सवाल उठाउँदा अथवा त्यसमा बहस गर्दा हामी निकै सचेत हुनुपर्छ र यसको सही व्याख्या, विश्लेषण गरी प्रगतिशील ढंगले बहस गर्न आवश्यक छ । मुख्य मुद्दालाई किनारा लगाएर सतही कुरामा मात्र बहस सीमित गर्यौं भने त्यसबाट दीर्घकालिन समाधान प्राप्त हुँदैन अर्थात् हामीले उठाएको मुद्दा र सवालले सार्थकता पाउन सक्दैन ।
यसकारण अब हामीले बहसको नयाँ मोडल तयार गर्नुपर्छ । द्वौध चरित्र भएका शासकीय पद्दति जसले शासन संचरनामा समानुपातिक, समावेशी र लैङ्गिक समानताजस्ता सिँढी देखाउँदै महिलालाई सहभागिता गराएजस्तो देखिन्छ तर वास्तवमा महिलाको संख्या मात्र देखाउन गरिएका यसप्रकारका सहभागिता न अर्थपूर्ण हुन्छ न उत्पादनमूलक नै । यो त केवल महिलाहरुलाई भ्रमित पार्ने र उनीहरुमाथि निरन्तर शोषण र शासन गरिरहने रणनीति हो ।
अहिले पनि महिलामाथि हुने हिंसाको घटनाहरुमा कमि आएको छैन । घर, कार्यस्थल, सार्वजनिक यातायात जताततै महिलामाथि हिंसा बढिरहेको छ । अझै अनलाईनमार्फत हुने हिंसाको त वास्तविक तथ्यांक नै छैन । यसर्थ नारी दिवस महिला जागरुकताका लागि मनाइने भएपनि महिलामुक्तिका लागि महिलाहरुलाई उत्पादन, भूस्वामित्व र अर्थपूर्ण राजनीतिक सहभागिता र श्रोतसाधनको पहुँचसँग जोड्नुपर्छ । आम महिलाहरुले महिलामुक्ति केवल आफुलाई मनपर्ने पहिरन लगाउन पाउने वा स्वतन्त्र भएर हिँड्डुल गर्नेसम्म मात्र सोच्नु हुँदैन । अहिलेको वर्तमान व्यवस्थाले घरभित्र सीमित राखिएका महिलाहरुलाई बाहिर ल्याएजस्तो देखिन्छ तर चरम श्रमशोषण गर्ने, यौनशोषण गर्ने, दाईजोको बहानामा जिउँदै जलाउने, संख्यात्मक कोरम पुर्याउनका लागि मात्र राजनीतिक सहभागिता गराउने, स्थायीरुपमा भूस्वामित्व नदिने जस्ता गतिविधिहरुले महिलामुक्तिको आन्दोलन अगाडि बढ्न दिएको छैन ।
तसर्थ महिलामुक्तिका लागि, महिलाहरुलाई धार्मिक, सामाजिक, आर्थिक र राजनीतिक साङ्लोबाट उन्मुक्ति दिन महिलाहरुले वैचारिक क्रान्तिको विगुल फुक्नुपर्ने देखिन्छ । महिलाहरुलाई बजारवादले एउटा विज्ञापनको वस्तुकोरुपमा प्रयोग गर्दै आएको छ । सुन्दरताको मापन पनि बजारु कस्मेटिक वस्तुको प्रयोगको आधारमा हुने समाजको निर्माण भइरहेको छ । यसलाई आममानिसले विकास, आधुनिकताकोरुपमा बुझ्दै यसको प्रवद्र्धनतर्फ जोड दिइरहेका छन् । जसले महिलालाई थप कमजोर र वस्तुकरण बनाउँदै छ । यसप्रति सचेत हुँदै ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा तय गरिएको “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नारालाई सार्थक बनाउन नीतिगत र सौद्धान्तिक आधार समेत तयार गर्नका लागि राज्य, समाज र सम्पूर्ण सरोकार निकायलाई ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दछु ।
(लेखक लामो समय महिलाअधिकारवादी गैरसरकारी संस्थामा काम गर्नुभई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत कर्मचारी हुनुहुन्छ ।)